सन्दीप लामिछानेविरुद्ध गौशाला २६ सर्वोच्च नजाने, बाँकी मुद्दा रोक्न दिइन निवेदन-Sutra News

सन्दीप लामिछानेविरुद्ध गौशाला २६ सर्वोच्च नजाने, बाँकी मुद्दा रोक्न दिइन निवेदन

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला २६ ले आगामी दिनमा मुद्दा नलड्ने निर्णय गरेकी छन् । बलात्कारको मुद्दामा उच्च अदालत पाटनले लामिछानेलाई सफाई दिएसँगै गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गर्दै थप मुद्दा नलड्ने बताएकी हुन् ।



यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष कैदसहित पाँच लाख रुपैयाँ क्षतिपूर्ति र जरिवना तोकेको थियो । तर, उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्टाएको थियो ।

यसैबीच पीडित भनिएकी गौशाला २६ ले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् । उनले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् । यसैगरी उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् ।

‘यो मुद्दा दर्ता भएदेखि मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए,’ हस्तलिखित निवेदनमा भनिएको छ ।

उनले आफूमाथि भएको घटनाका कारण त्रासपूर्ण जीवन बाँच्नु परेको उल्लेख गरेकी छन् । ‘मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु, साथै यस मुद्दाले पार्ने दूरगामी असरबारे म अवगत थिइनँ,’ उनले भनेकी छन् ।

गौशाला २६ ले चाहेको खण्डमा उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न मिल्नेछ । तर, यसैबीच उनले आगामी दिनमा मुद्दा नलड्ने गरी निवेदन दिएकी हुन् । उनले आफ्नो निवेदनमा उच्च अदालत पाटनले सार्वजनिक गरेको फैसलाको पूर्णपाठ अध्ययन गरिसकेको बताएकी छन् ।

उक्त फैसलाको अन्त्यमा पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई आधार बनाएर सफाइ दिन मिल्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट