सेयर बजारमा कस्तो पर्ला मौद्रिक नीतिको प्रभाव ?-Sutra News

सेयर बजारमा कस्तो पर्ला मौद्रिक नीतिको प्रभाव ?

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । सार्वजनिक मौद्रिक नीतिप्रति सेयर बजारका लगानीकर्ता सकारात्मक देखिएका छन् । आफ्ना मागहरू पूर्ण सम्बोधन नभए पनि सार्वजनिक नीतिले आशा जगाएको लगानीकर्ताहरूको भनाई छ ।



सेयर लगानीकर्ता संघ नेपालका कार्यबहाक अध्यक्ष ताराप्रसाद फुलेल संस्थागततर्फको सेयर धितो कर्जाको क्याप हट्नु निकै सुखद भएको बताउँछन् । मौद्रिक नीतिको समीक्षामा बाँकी माग समेटिने उनको अपेक्षा छ ।

“हाम्रो अपेक्षा व्यक्तिगत र संस्थागत सेयर धितो कर्जाको क्याप हट्ला भन्ने थियो तर, संस्थागततर्फको मात्रै सम्बोधन भयो”, सूत्र न्युजसँगको कुराकानीमा फुलेलले भने, “पछि समीक्षामा व्यक्तिगतको पनि सम्बोधन होला, यद्यपि मौद्रिक नीतिले आशा जगाएको छ ।”

नीतिमा गरिएको सम्बोधन संयततापूर्ण देखिएको पनि उनले बताए । “एकै पटक नीति परिमार्जन गर्नु हुँदैन भन्ने बुझाई थियो, जुन सकारात्मक छ, यो संयततापूर्ण देखिन्छ”, उनले भनेका छन् ।

फुलेलको जस्तै बुझाई अर्का लगानीकर्ता साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जि.सी.को पनि छ । उनका अनुसार मागहरू सबै पूरा नभए पनि नीतिले आशा जगाउने काम गरेको छ ।

“पुँजी बजारसँग सम्बन्धित थुप्रै विषयमाथि मौद्रिक नीति बोलेको छ, पुँजी बजारसँग जोडिएका अन्य क्षेत्रबारे पनि नीतिले सम्बोधन गर्ने प्रयत्न गरेको छ”, जि.सी. भन्छन्, “नीतिले सबै खालका लगानीकर्तामा आशा जगाएको छ ।”

लगानीकर्ताले सेयर धितो कर्जाको जोखिम भार घट्ने पनि अपेक्षा गरेका थिए । तथापि, मौद्रिक नीतिमा त्यसको सम्बोधन नभएको जि.सी. बताउँछन् ।

“कर्जाको जोखिम भार घट्छ भन्ने अपेक्षा लगानीकर्ताको थियो तर, गभर्नरले त्यसबारे पछि आउँछ भनेर बोल्नुभएन, स्पष्ट पारिदिएको भए निकै राम्रो हुन्थ्यो तर, भएन” जि.सी. भन्छन् । हाल ५० लाखमाथिको सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत छ भने ५० लाखमुनिको सेयर कर्जा जोखिमभार १०० प्रतिशत छ । बाँकी विषय मौद्रिक नीतिको समीक्षामा समेटिने आशा लगानीकर्ताले गरेका छन् ।

“१० वर्ष अगाडिको हाम्रो मार्केट र आजको मार्केटको अवस्था उस्तै छ, देखिँदा इन्डेक्स माथि भए पनि मार्केट माथि छैन, ठुला कम्पनी भित्रिँदा इन्डेक्स माथि देखिएको हो”, जि.सी. भन्छन्, “जसको समाधान गरिनुपर्छ । राष्ट्र बैंक उदार बन्नैपर्छ । मौद्रिक नीतिमा केही समेटिए, अब समीक्षामा समेटिनु आवश्यक छ ।”

के छ बजार विश्लेषकको बुझाई ?

नयाँ सरकार गठनको चर्चादेखि बढ्न थालेको सेयर बजार निरन्तर उत्साहित छ । तीन साताको बीचमा ५०० भन्दा बढी अंकले इन्डेक्स बढेको छ ।

सँगै सेयर बजारमा कारोबार रकम पनि उत्साहपूर्ण देखिन्छ । दैनिक २/३ अर्बमा रिँगिरहेको कारोबार अहिले दैनिक १५ अर्ब आसपासमा छ ।

सरकार हेरफेर, बजेट, मौद्रिक नीति, नीतिको समीक्षा, बैंकका ब्याजदर जस्ता विषयले बजारलाई प्रभावित बनाइरहेको पाइन्छ । यस्तोमा चालु आर्थिक वर्षको मौद्रिक नीतिले थप उत्साहित बनाउने बजार विश्लेषकहरूको बुझाई छ ।

बजार विश्लेषक शंकर घिमिरे बुलिस ट्रेन्डलाई मौद्रिक नीतिले थप टेवा पुर्‍याउने अवस्था देखिएको बताउँछन् । “एकातिर बजार प्राविधिक हिसाबले राम्रो अवस्थामा देखिन्छ भने अर्कोतिर पोजेटिभ मनोविज्ञान निर्माण गर्नेगरी मौद्रिक नीति आएको छ”, घिमिरे भन्छन्, “बुलिस ट्रेन्डलाई मौद्रिक नीतिले थप अगाडि बढाउँछ भन्ने लाग्छ ।”

यद्यपि, नयाँ तथा साना लगानीकर्ताहरू चनाखो हुनुपर्ने अवस्था पनि देखिएको उनले बताए । “सबै हिसाबले बजार थप अगाडि बढ्ने निश्चित छ, योबिचमा ठुला लगानीकर्ता फाइदा कमाउन तल्लीन हुने र नवप्रवेशी तथा साना मिचिने अवस्था पनि हुनसक्छ”, उनले भनेका छन्, “लगानी गर्दै गर्दा नवप्रवेशी र साना लगानीकर्ताले चनाखो भएर कम्पनी छान्नुपर्छ । नत्र घाटामा पनि जान सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट