‘शाम्बाला’को प्रदर्शन मिति घोषणा, हालसम्मकै नेपालको मंहगो फिल्म-Sutra News

‘शाम्बाला’को प्रदर्शन मिति घोषणा, हालसम्मकै नेपालको मंहगो फिल्म

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।



शुक्रबारसाँझ ललितपुरमा आयोजित एक कार्यक्रमबिच फिल्मको रिलिज मिति घोषणा गर्दै आगामी भदौ २८ गते बाट प्रदर्शनमा आउने जानकारी गराइएको हो ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्‌ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो फिल्मले पेस गर्छ । फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।

यो फिल्म हालसम्मकै नेपालको मंहगो बजेटमा बनेको छ । निर्माणपक्षका अनुसार फिल्म निर्माणका लागि १४ करोड २१ लाख २० हजार रुपैयाँ बजेट लागेको छ ।

‘हामीले यो फिल्म निर्माणको बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ । तर वास्तवमा सबै हिसाब गर्दा करिब १५ करोड रुपैयाँ लागेको छ,’ निर्देशक भामले भने ।

हिमाली भेगको छायांकन, कथामा रिसर्च तथा प्रोडक्सनको काम नेपाल बाहिर गरेकाले बजेट धेरै लागेको हो । अझै पनि यो फिल्मलाई ‘इनह्यान्स’ गर्ने काम भइरहेको उनले बताएका छन् ।

यस्तै पत्रकार सम्मेलनमा निर्देशक मिनले हालसम्म विश्वका २९ देशमा हल रिलिजको टुंगो लागिसकेको जनकारी दिए । ‘हाम्रो सेल्स एजेन्ट जो हो उसका अनुसार ४० देशको राइट्स बिक्री भइसकेको छ,” उनले भने, “नेट्फिल्क्ससँग पनि संवाद भइरहेको छ । तर, सबैतिर रिलिज भइसकेपछि मात्र नेट्फिल्क्समा जाने हाम्रो लक्ष्य हो । हेरौँ कस्तो हुन्छ ।’

निर्देशक भामले ‘शाम्बाला’ आजीवन युट्युबमा रिलिज नगर्ने घोषणा गरेका छन् ।

आफ्नो पहिलो चलचित्र ‘कालोपोथी’ पनि युट्युबमा नरहेको र ‘शाम्बाला पनि युट्युबमा नआउने उनको भनाइ छ ।

‘फिल्म युट्युबका लागि भनेर बनाएकै नहुने भएकाले म युट्युबमा फिल्म राख्दिनँ । मेरो पहिलो फिल्म पनि युट्युबमा आएन,’ मीन भन्छन्, ‘शाम्बाला पनि आउँदैन । ओटीटीमा त सानो स्क्रिनमा हेर्नै पर्ने होला । तर म त भन्छु, फिल्म सकेसम्म हलमै हेरौँ ।”’

युट्युबबाट केही पैसा आउने भए पनि आफूले त्यसमा फिल्म कहिल्यै र कुनै पनि नराख्ने उनको भनाइ छ ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

यस्तै ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भइसकेको छ ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट