काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई सरूवा गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो ।
उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइएको छ । प्रतिष्ठानमा रहेका डीआईजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ ।
केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।