एकीकृत समाजवादीले कहिले टुंग्याउला केन्द्रीय कमिटी ?-Sutra News

एकीकृत समाजवादीले कहिले टुंग्याउला केन्द्रीय कमिटी ?

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

काठमाडौं । महाधिवेशन सकिएको एक महिना पुग्दै गर्दा पनि नेकपा (एकीकृत समाजवादी)ले अझै पदाधिकारीसहित केन्द्रीय समिति टुंग्याउन सकेको छैन । असार २१ मा सम्पन्न महाविधेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।



तर, पार्टीभित्रको किचलो साम्य नभएसँगै बाँकी पदाधिकारी चयनको विषय अन्योलपूर्ण बनेको छ । महाधिवेशनले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । महाधिवेशनले ९९ सदस्यको नाम टुंग्याएको भएपनि बाँकीको नाम टुंगो लगाएको छैन ।

योबीचमा एकीकृत समाजवादीको ९९ सदस्यीय केन्द्रीय कमिटीको बैठक पटक–पटक बसेपनि निर्णय भने लिन सकेको छैन । बैठक अन्य विषयमा केन्द्रीत भइरहँदा पार्टीको संगठनात्मक संरचनालाई टुंग्याउने शैलीबाट भने छलफल हुन सकिरहेको छ ।

बिहीबार पनि पार्टीको ९९ सदस्यीय केन्द्रीय कमिटीको बैठक बसेको थियो । तर, बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रीत बन्यो । बिहीबारको बैठकमा पार्टीभित्रको विवादबारे छलफल भएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई फुटाउन षडयन्त्र भएको बताएका थिए ।

नेता घनश्याम रिजालले बताएअनुसार सोमबारदेखि पुनः पार्टी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले महाधिवेशनले बाँकी विषय टुंग्याउने उनले बताए ।

नेता रिजालका अनुसार केन्द्रीय कमिटीमा पर्ने नामको विषय करिब टुंगो लागिसकेको छ । जसलाई बैठकले अनुमोदन गर्नेछ ।

“योबीचमा धेरै छलफल भए, नाम करिब फाइनल भइसकेको छ, जसलाई बैठकले अनुमोदन गर्नेछ”, उनले भनेका छन्, “पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।”

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट