काठमाडौं । नेपाली संगीत क्षेत्रमा पछिल्ला दिनहरूमा स्क्यान्डल किङको उपमा पाउन थालेका गायक एवं मोडल दुर्गेश थापाले आफू सुध्रिएर आउन लागेको बताएका छन् ।
कुनै समय एकपछि अर्को विवाद आइरहँदा यस्तो लाग्थ्यो कि उनी विवादमा नै मज्जा लिन थालिसके थिए तर, आइतबार ‘झुम्का हरायो’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दुर्गेशले अब आफू सुध्रिएर आउने बताए हुन् ।
विशेष गरेर उनका गीतको शब्द र गायकीलाई लिएर आलोचना हुने गरेको थियो। एकपछि अर्को गल्ती गर्दै विवादित बन्दै उनले आफूलाई स्क्यान्डल किङको रूपमा उभ्याएका थिए । गीत सार्वजनिक कार्यक्रममा अबको दिनमा भने दुर्गेशले त्यस प्रकारका गीतहरू नल्याउने बताउँदै गर्दा धेरैको ध्यान तान्न भ्याए ।
‘अब मलाई के लाग्यो भन्दा नि, सायद उमेर पनि बढ्दै गएर होला हैन । गीतहरू अब सबै मानिसहरूले सुन्ने, सबै मानिसहरूको अगाडि हेर्न मिल्ने बनाउनुपर्छ भन्ने मेरो दिमागमा पस्यो, अब दुर्गेश सुध्रिएर आउँदैछ’, उनले भने ‘उमेरसँगै परिवार, साथी सर्कलका कारण आफूमा परिवर्तन आयो ।’
दुर्गेशले अगाडि थपे,’पहिले पहिलेका मेरा गीत अलि उट्पट्याङ हुन्थ्यो। कुनै राम्रो हुन्थ्यो, कुनै सुन्न नसक्ने पनि हुने गुनासो आउँथ्यो, यो पटकबाट उट्पट्याङ नभएर सबैले सुन्ने खालको, मन पराउने, रुचाउने खालको गीत मात्रै गर्छु भन्ने सोचिरहेको छु।’