काठमाडौं । सांसदहरुले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमजोरीको समाधानका लागि गम्भीर भएर अध्ययन गर्न सरकारलाई सुझाव दिएका हुन् ।
साथै, उनीहरुले हर्वाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानविन आयोगप्रति प्रश्न उठाए ।
उनले जहाजलाई मर्मतका लागि लैजाने क्रममा अन्य व्यक्तिहरुलाई लानु पर्ने र मर्मतका लागि पोखरा विमानस्थलमा जानु पर्ने कारण खोज्न आवश्यक रहेको बताए । सबैभन्दा सुरक्षित यातायात हवाई उडान नेपालमा भने भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नु पर्ने बताएका थिए ।
त्यस्तै, सांसद सांसद राजेन्द्र बजगाईंले नेपालमा हवाई सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनु पर्ने बताए । नेपालको हवाई सेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने थप अवस्था जटिल हुने उनको धारणा थियो ।
सांसद सुनिता बरालले घटनाक्रमले अहिलेको नियमक निकायका बारेमा सोच्न गम्भीर हुनु पर्ने अवस्था आएका उल्लेख गरिन् । हवाई क्षेत्रका सम्बन्धी निकायलाई नीतिगत रुपमा ध्यानाकर्षण गराउन जरुरी देखिएको भन्दै उनले सरकारले गम्भीर भएका हवाई क्षेत्रका बारेमा आवश्यक सुधारका काम गर्नु पर्नेमा जोड दिए ।
बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो । मर्मतका लागि पोखरा उड्न लागेको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।