काठमाडौं । मौद्रिक नीति सार्वजनिकपछिको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आयो । नेप्से परिसूचक ११३.४२ अंकले बढ्दै २६८१.५६ को बिन्दुमा उक्लियो । समग्रमा यस दिन नेप्से ४.४१ प्रतिशतले बढ्यो ।
उछालपूर्ण रहेको बजारमा १५ अर्ब ८१ करोड रुपैयाँमाथिको कारोबार भयो । यस दिन चार करोड तीन लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।
सुरुवातमै सर्किट बे्रक लागेको नेप्से दोस्रो सर्किट ब्रेकपछि सम्हालिएको थियो । कारोबार खुलेको एक मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको नेप्से खुल्ने वित्तिकै पुनः १ प्रतिशत अर्थात समग्रमा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा १२९ अंकले बढ्दै २६९७ को बिन्दुमा पुगेको नेप्से ४० मिनेटपछि खुलेपछि सम्हालिएको थियो । खरिद–बिक्रीको चाप बढ्न जाँदा नेप्सेमा तेस्रो बे्रक भने लागेन ।
यस दिन सबैभन्दा बढी बैैंकिङ्ग समूह ९.८९ प्रतिशतले बढ्यो । सकारात्मक सर्किट लागेका अधिकांश कम्पनी बैंकिङ्ग समूहकै छन् । स्टाण्डर्ड चाटर्ड बैंकबाहेक सबैको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भएको छ ।
बैंकिङ्ग समूह सर्किट लेबलमा बृद्धि हुँदा यस दिन विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।
सबै समूहमा उछालपूर्ण बृद्धि हुँदा माइक्रोफाइनान्समा भने ०.१८ अंकले गिरावट आएको छ ।
मौद्रिक नीतिमा सेयर बजार अनुकुल नीतिहरु ल्याइएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । विशेषगरी संस्थागत लगानीकर्ताको लागि सेयर धितोमा लिन पाउने कर्जाको सीमा (२० करोड) हटाइएसँगै ठूला तथा संस्थागत लगानीकर्ता उत्साहित देखिएका छन् । जसको प्रभाव बजारमा परेको हो ।