काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।
आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरणसहित गतिशिल बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने गरी पार्टीमा छलफल चलिरहेको बताए ।
उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा भ्रष्टहरु मिलेर सरकार ढालेको उल्लेख गरे । आफूहरु सरकार छाड्दा विजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको उनको भनाइ थियो ।
प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको धारणा राखे । कार्यक्रममा एमाले, कांग्रेस, रास्वपालगायत दलमा आवद्ध कार्यकता माओवादी प्रवेश गरेका थिए ।