काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सरकारले नेपाली फिल्मकर्मीको उपलब्धी र योगदानको मूल्यांकन र कदर नगरेको आरोप लगाएका छन् ।
शुक्रबार निर्देशक मीन भामको फिल्म ‘शाम्बाला’को रिलिज डेट सार्वजनिक कार्यक्रममा सरकारले नेपाली फिल्मको विश्वभर चिनाउने काम गरे पनि यसलाई राज्यले भने बुझ्न नसकेको आरोप लगाएका हुन् ।फिल्म ‘शाम्बाला’ विश्वकै प्रतिष्ठितमध्येको एक बर्लिन फिल्म फेस्टिभलमा छनोट हुँदा सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।
दक्षिण एसियाकै प्रतिनिधित्व गर्दै तीन दशकपछि नेपालबाट ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा पुग्दा उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिल्म हो ।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली निर्देशकको फिल्मले यत्रो एचिभमेन्ट गरेको छ । नेपाली फिल्म क्षेत्रले मात्रै होइन पूरै देशले, सरकारले नै एचिभमेन्टका रुपमा लिएर सेलिब्रेट गर्नुपर्नेमा वास्तै गरेन, बरु यो सिनेमासँग सानो सानो काममा जोडिएका देशले हामीले काम गरेको सिनेमा बर्लिन फिल्म फेस्टिभलमा पुग्यो भनेर सेलिब्रेट गरिरहेका छन् । तर हाम्रो सरकारलाई वास्तै छैन ।’
विश्वको फिल्म जगत र फिल्म बुझ्ने देशले स्वीकार गरेको ‘साम्बाला’को निर्देशकलाई नेपालको सरकारले भने नचिनेको उनको टिप्पणी छ । ‘विश्वले साम्बाला फिल्मको मेकर भनेर चिनिरहेको छ । तर यही देशमा लखरलखर हिँड्दा पनि यहाँको सरकारले चिन्दैन, यो कस्तो व्यवाहार हो सरकारको ?’ निश्चलले प्रश्न गरे ।
देशको कला, संस्कृति जगेर्ना गर्दै नेपाललाई विश्वमा चिनाउने माध्यम फिल्मलाई सरकारले वास्तै नगरेको उनले बताए । ‘नेपालाई राजनीतिले मात्रै विश्वमा चिनाउने हो ? राजनीतिबाटै चिनाइरहेका छौँ भन्ने लागेको होला हैन ?,’ आक्रोशित हुँदै निश्चलले भने, ‘हामीले पनि देखिरहेका छौँ, कस्तो राजनीति गरेर नेपाललाई चिनाइरहनु भएको छ ।’
दक्षिण एसियाकै फिल्म जगतको प्रतिनिधित्व नेपाली फिल्मले गर्नु सानो उपलब्धी नरहेको तर यसलाई राज्यले नबुझेको उनको आरोप छ । विश्वलाई नेपाल चिनाउने फिल्मलाई समेत राज्यले चिन्न नसकेको उनको गुनासो छ । उनले भने, ‘वर्ल्ड सिनेमासँग कम्पिटिसन गर्ने सिनेमा बनाउने निर्देशक नेपालमा छन् । विश्वलाई चिनाउने सिनेमा बनाउने मेकरलाई नालायक ठान्छ, यो कस्तो सरकार हो ।’
यस्तै कमर्सियल फिल्मलाई प्राथमिकता दिने पत्रकार र सञ्चारमाध्यमले पनि फेस्टिभलमा पुगेका फिल्मलाई कमै मात्रै स्थान दिने गरेको उनले बताए ।