काठमाडौं । थुप्रै फिल्म र सिरिजहरूको स्ट्रिमीङ्ग गरिरहेको कान्तिपुर सिनेमाजले यही श्रावण १० गतेबाट मिनी सिरिज ‘द नाइट डायरीज’ को स्ट्रिमीङ्ग सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय प्लेटफर्ममा छोटा छोटा कथाहरूको श्रृखलालाई मिनी सिरिजको रूपमा टेलिभिजन अथवा ओटीटीमा प्रदर्शन गरिने चलन छ । नेपालमा भने मिनी सिरिज नै भनेर ओटीटीमा स्ट्रिमीङ्ग गरिएको सम्भवतः यो पहिलो हो ।
काठमाडौँ सहरमा बस्ने चार युवा र चार युवतीको एक रातको कथामा ‘द नाइट डायरीज’ बनाइएको छ । मिनी सिरिजले टिनेजको लभ, अफ्याक्सन, याम्बीसन र ड्रिम्स्लाई केन्द्रमा राखेको छ ।
कान्तिपुर सिनेमाजका लागी कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थीहरूको समूहले तयार पारेको मिनी सिरिजमा चार एपिसोड छन् । अहिले चारवटै एपिसोड कान्तिपुर सिनेमाज मा श्रावण १६ गते बुधवार सम्मको लागी निःशुल्क स्ट्रिमीङ्ग भइरहेको छ । त्यसपछि भने ‘द नाइट डायरीज’ हेर्न कान्तिपुर सिनेमाजको सब्स्क्रीप्सन लिनुपर्ने हुन्छ ।
‘द नाइट डायरीज’ का लेखक तथा निर्देशक सनोल दास हुन् । उनले थुप्रै कलेज प्रोजेक्ट र सर्ट फिल्महरू बनाएका छन् । उनले बनाएको फिल्म ‘पखेटा’ले यस वर्षको नेपाल अन्ताराष्ट्रिय फिल्म फेस्टीभलमा फिचर क्याटेगोरीमा स्पेसल मेन्टन अवार्ड जितेको थियो ।
यस सिरिज ‘द नाइट डायरीज’ मा सुन्दर धिताल, सुप्रज्ञा शर्मा, मञ्जील श्रेष्ठ, नग्मा श्रेष्ठ, नारायण गैरे, प्रिया न्यौपाने, सनोल दास र बिना रोक्का लगाएतको अभिनय रहेको छ ।
फरक खालका फिल्म, भिज्वल कन्टेन्ट र ईन्डीपेन्डेन्ट फिल्म मेकरहरुको लागी सहज बनिरहेको ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा फिचर फिल्म, अवार्ड विनीङ्ग सर्ट फिल्म, वेव सिरिज, प्ले सिरिज र मिनी सिरिज गरेर हाल २५ वटा प्रिमियम ओरिजीनल कन्टेन्टहरू रिलिज भइरहेका छन् ।