काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको हो ।
फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि ‘घर नम्बर २’मा आर्यन सिग्देलको प्रवेश भएको छ । निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ ।
निर्माणपक्षले यो फिल्ममा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका र फिल्मलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।
आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग फिल्म क्षेत्रमा बढेको देखिन्छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ । केही हिरोइनसँग छलफल भइरहे पनि निश्चित नभएको निर्माणपक्षले जनाएको छ ।
यही बर्ष रिलिज गर्ने तयारी गरिएको फिल्मलाई सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए ।
यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ ।