काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् । उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा नाम फिर्ता लिन निवेदन दिएका हुन् ।
यौन शोषणसम्बन्धी उजुरी परेपछि विवादमा तानिएका प्रधानले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)को निर्णयपछि नाम फिर्ता लिन निवेदन दिएका हुन् । सोमबार बसेको दुई दलको बैठकले प्रधानले नाम फिर्ता नलिए समितिबाट अनुमोदन नगर्ने निर्णय गरेको थियो ।
जुन निर्णयपछि उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।
नाम फिर्ता लिँदै प्रधानले आफू झुठ प्रचारको सिकार भएको बताएका छन् । उनले झुठ प्रचार कति डरलाग्दो हुँदो रहेछ भन्ने पनि आफूले महसुस गरेको बताएका छन् ।
“मेरा उपर निजी पारिवारिक एवम् सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु”, उनले निवेदन पत्रमा भनेका छन्, “संगठित रुपमा लागेपछि झुठहरू कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महशुस गरेको छु ।”
सिफारिस भएपनि आयोगको आयुक्त पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकाले आफूले नाम फिर्ताको लागि निवेदन दिएको उनले बताएका छन् । “म केन्द्रीत मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकाले, सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समितिसमक्ष जानकारीको लागि अनुरोध गर्दै सोअनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु”, उनले पत्रमा लेखेका छन् ।
सम्बन्धित समाचार
पीडित महिलाले उजुरी दिएपछि प्रस्तावित आयुक्त प्रधानले नाम फिर्ता लिए