कांग्रेस महामन्त्रीहरूलाई रविको आरोप- सदनलाई झुक्याउन गलत कुराहरू भन्दिने-Sutra News

कांग्रेस महामन्त्रीहरूलाई रविको आरोप- सदनलाई झुक्याउन गलत कुराहरू भन्दिने

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई प्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्रीहरूलाई चुनौती दिएका हुन् ।



सभापति लामिछानलेले आफूले सहकारीबाट लिएको ऋणको प्रमाण जुटाउन चुनौती दिएका हुन् । यस्तै, गृहमन्त्री हुँदा गरेको कामलाई केही होइन भन्न नहुने भन्दै प्रतिप्रश्न गरेका हुन् ।

‘एक जनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नु भएको थियो, मैले भनेको थिएँ, त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडे पनि म राजनीति छाड्छु भनेर,’ गगन थापालाई लक्षित गर्दै उनले भने, ‘मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन, यसरी सदनलाई झुक्याउन गलत कुराहरु भन्दिने ।’

उनले ठूला भ्रष्टाचारको काण्डमा गलत सूचना दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताएका थिए ।

यस्तै, उनले अर्का महामन्त्री शर्माले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा दिइएको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । ‘उहाँको नागरिकता प्रकरणमा अनुसन्धान जारी छ, लामो अनुसन्धानको विषय छ, तर उहाँले खुदा पहाड निक्ला चुहा, तपाईंले खोल्नु भएको केही पनि होइन भनेर संसदलाई गुमराहमा राख्न मिल्छ ?,’ उनले भने ।

उनले कान्तिपुरका मालिक सिरोहियाविरुद्ध आफूले कुनै पूर्वाग्रह राखेर नागरिकता प्रकरणको छानबिन अघि नबढाएको दाबी गर्न भ्याए ।

‘कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने मान्छेको कमी भए म समाचार पढ्छु, मलाई माया छ, कान्तिपुरसहित यो देशका पत्रपत्रिकाले दिएको योगदानको प्रशंसा गर्छु, तर संस्थाको योगदान र व्यक्तिको कुरालाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन,’ उनले थपे ।

उनले अनुसन्धान भइरहेको विषयमाथि पूर्वाग्रह रहेर केही पनि होइन भनेर सदनमा अनावश्यक टिप्पणी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट