काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ पोखराको हलहरूमा नचलाउन गुरुङ समूदायको साझा संस्था ‘तमु धिं नेपाल’ले आग्रह गरेको छ । संस्थाले अनिश्चित कालसम्म नचलाउन आग्रह गरेको हो
पोखरास्थित मिड टाउन सुभिजलाई पत्र लेख्दै ‘तमु धिं नेपाल’ले अनिश्चित कालका लागि हल बन्द गरिदिन आग्रह गर्दै फिल्म चलाउँदा हुन सक्ने क्षतिको जिम्मेवार हल सञ्चालकले लिनु पर्ने उल्लेख गरेको छ ।
आग्रह नमानी चलचित्र चलाए त्यसबाट हुन सक्ने क्षतिको जिम्मेवार हल सञ्चालक स्वयं हुनु पर्ने दिएको छ । चलचित्र ‘घरज्वाइँ’ले गुरुङ समूदायको रोधी/रोदी संस्कृतिमाथि दृश्यांकन गरेको दृश्य रोधी/रोदी विधि र विधान विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष रहेको ‘तमु धिं नेपाल’ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चलचित्रमा उल्लेखित रोधी/रोदी शव्द संसोधन गरी सम्बन्धित भुगोलकै शब्द नराखेसम्म गण्डकी क्षेत्रमा कुनै पनि चलचित्र प्रदर्शन हुन नदिने निर्णय गरिएको जानकारी गराउँद छौँ ।’
विज्ञप्तिमा उल्लेख छ, ‘गुरुङ समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणको लागि अनिश्चित कालसम्मको लागि तपाईँले चलचित्र प्रदर्शन नगरी हाम्रो अभियानमा साथ दिनुहुन अनुरोध गर्दछौँ ।’
उक्त दृश्य संशोधनका लागि चलचित्र निर्माणपक्षलाई बारम्बार आग्रह गरेको र चलचित्र जाँच पास समितिलाई समेत पत्राचार गर्दा पनि माग सुनुवाइ नभएको ‘तमु धिं नेपाल’ले गुनासो गरेको छ ।
अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्र तेस्रो हप्तामा प्रदर्शनरत छन् । यो सिनेमाले दुई हप्तामा ४ करोड ६३ लाख कलेक्सन गरेको जनाएको छ । सिनेमामा मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङलगायत कलाकार छन् ।