काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि सोमबार प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए ।
प्रस्तावित व्यक्तिले निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।
यसअघि समितिमा प्रधानविरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरि सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो ।