काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा छानबिनमा तानिने भएका छन् । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले लामिछानेसँग बयान लिने तयारी गरेको हो ।
गोखरा मिडिया नेटवर्कमाथिको छानबिन गरिरहेको समितिले लामिछानेलाई तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा बोलाएर बयान लिन लागेको हो । तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
“गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ, सोही कारण उहाँमाथि सोधपुछ हुने विषय स्वभाविक छ”, थापाले भनेका छन् ।
लामिछानेसँग कहिले सोधपुछ गरिन्छ भन्ने विषय भने यकिन भइसकेको छैन । बताइएअनुसार बुधबार उनलाई बोलाउने तयारी गरिएको छ ।
लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएका छन्। उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा अर्बौं रकम ल्याएर अपचलन गरिएको आरोप छ ।
सहकारी प्रकरणमाथि छानबिन गर्न गत जेठ १५ मा विशेष संसदीय समिति गठन भएको थियो । जसले जेठ २३ देखि छानबिनको काम थालेको थियो ।
योबीचमा समितिले विभिन्न संस्था र संस्थासँग जोडिएका व्यक्तिबारे अध्ययन गरेको छ । साथै, सहकारी प्रकरणबारे विभिन्न सरोकारवालासँग छलफल पनि गरेको छ ।
सोही क्रममा समितिले क्रमशः मुछिएका तथा आरोपितसँग सोधपुछ तथा बयान लिन सुरु गरेको हो ।