काठमाडौं । फ्रान्सका फुटबल सुपरस्टार किलियन एम्बाप्पे क्लबका मालिक बन्ने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने भएका हुन् ।
फ्रेन्च क्लब पीएसजी छाडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रिबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
एम्बाप्पे आफ्नो क्यारिअरको शुरुवातमा मोनाको क्लबसँग हस्ताक्षर गर्नुअघि केनमा आवद्ध हुने तयारी गरेका थिए । केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो ।
यस क्लबका पूर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् । सन् १९१३ मा स्थापित केन दुई पटकको लिग २ च्याम्पियन बनेको छ ।