काठमाडौं । लामो समयको फिल्म निर्माणको अनुभव सहित ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषा चौलागाईंले दोस्रो फिल्मको तयारीमा छिन् । उनले दोस्रो फिल्मको रुपमा ‘पिताम्बर’ बनाउन लागेकी हुन् ।
कलाकारको बलियो लाइनअप रहेको यो फिल्मको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा केही प्रतिशत सकिएको छ । दोस्रो चरणको छायांकन वैशाखबाट सुरु गर्ने भनेपनि कलाकारहरुको व्यस्तताले गर्दा सुरु हुन सकिरहेको थिएन् ।
यता निर्माणपक्षले फिल्मको यही भदौबाट दोस्रो चरणको छायांकन सुरु गर्ने तयारी थालेको छ । भदौ १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको यतिवेला धमाधम वर्कसप भइरहेको छ ।
कान्तिपुर फिल्म एकेडेमीमा स्क्रिप्ट र चरित्रको बारेमा छलफल भइरहेको वर्कसपमा निर्देशक, कलाकारदेखि प्रोडक्सन टिमसम्म सहभागी छन् ।
पाँच करोड लागतमा निर्माण हुने बताइएको फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ । फिल्मको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको छ ।