काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियारले राजदूत सिफारिसमा आपत्ति जनाएका छन् । उनले राजदूत सिफारिस समावेशी नभएको भन्दै प्रतिनिधिसभा बैठकमा बोल्दै आपत्ति जनाएका हुन् ।
सांसद पारियारले मन्त्रिपरिषद्ले १९ राजदूत सिफारिस गर्दा संविधानको व्यवस्था बमोजिम नभएको भन्दै प्रश्न उठाए । संविधानको धारा २८२ र २८३ सरकारले पालना नगरेको भन्दै उनले प्रश्न उठाएका हुन् ।
‘हिजोमात्र नेपाल सरकारले मन्त्रिपरषद्बाट एउटा निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन ? म सरकारसँग जोडदार माग गर्न चाहन्छु,’ उनले भने ।
संविधानको धारा २८२ मा समावेशी सिद्धान्तका आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने व्यवस्था छ भने धारा २८३ मा संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोककुमार चौधरीले पनि राजदूत नियुक्ति समावेशी सिद्धान्तका आधारमा नभएको बताउँदै सरकारको आलोचना गरेका थिए ।