काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।
राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान थियो । कूल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् ।
पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् ।
प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने छिन् ।