काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाकै १८ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४७ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार तीन सय रुपैयाँ थियो ।
सुनको मूल्यलाई पछ्याउँदै बुधबार चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँका दरले बढ्दै बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।