काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको फोटो राखेर मृत्युको कामना गर्दै अनुष्ठान गरेपछि पक्राउ परेका विवादित धर्मगुरु पुष्कर खतिवडाले आफूलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उनले आवास अधिकारीमार्फत गैरकानुनीरुपमा थुनामा राखेको भन्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
खतिवडाले गत साउन ११ गते आफ्नो फेसबुकमार्फत लाइभ गरी ‘नेताहरुको मुत्युको कामना गरी महायज्ञ हुन गइरहेको’ भन्दै त्यसमा सहभागी हुन आह्वान गरेका थिए । धुम्बाराहीस्थित आफ्नो घरमा नेताहरुको मुत्युको कामना गर्दै महायज्ञ गरिरहेकै अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए । यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले साउन १४ गते खतिवडालाई पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेसँगै उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।
खतिवडालाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खतिवडाले भने राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर गरेका छन् ।
यसअघि पनि खतिवडाले विभिन्न आपत्तिजनक टिकाटिप्पणी गर्दै आएका छन् ।
केही समयअगाडि मात्रै एउटा टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा २०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ति भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका थिए । साथै, उनले गणतन्त्र नेपालीको नासो नभएर विदेशीको पासो भएको बताएका थिए ।