पछिल्लो समय सूचना प्रविधिले चेली र माइतीको दूरीमात्रै घटाएको छैन संस्कार, संस्कृति र आडम्बरलाई पनि उत्तिकै चुनौती दिन थालेको छ । अचेल तीजका गीत कुन हुन्छ ? रत्यौली के हो ? भन्ने कुराको भेउ पाउन मुस्किल छ ।
तीजलाई नारीको पर्व भनिन्छ तर, दोहोरी नगाएसम्म, पुरुष ननाचेसम्म तीजका गीत बन्दैनन् अचेल ।
दोहोरी पहिलेका गीतमा पनि हुन्थे, जस्तो- ‘आमाले छोरालाई तीज आइसक्यो दिदी लिन जाऊ बाबु’ अनि छोराले ‘के कोसेली लिएर जाने ?’ भन्ने यस्ता सवाल–जवाफमा निकै पारिवारिक, शालीन र भद्र तरिकाले गाइन्थे ।
तर, अचेल यस्ता गीतका अंश सुन्न पाइँदैन ।
तीज गीत कहिलेबाट सुरु भयो भन्ने तिथि मिति यकिन गरेर भन्न सकिँदैन । तीजको गीत पौराणिक कथाबाट प्रेरित भएर आएको विज्ञहरु बताउँछन् ।
तर, धार्मिक मान्यतानुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने कुरा थाहा पाएपछि बेखुसी भएकी पार्वतीले आफूले मन पराएको वर पाउन शिव लिङ्गको स्थापना गरी निराहार व्रत बसेको र पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भई आशीर्वाद दिएको र शिव–पार्वतीको विवाह भएको मानिन्छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले परापूर्वकालदेखि आजसम्म सोही तिथिमा हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको र सोही दिन हरितालिका तीजका रूपमा चित्रित भएको उल्लेख छ ।
तीजका गीत खासगरी दुई प्रकारका हुन्छन् । एउटा नारीका मनोवेदना र चाहना प्रकट गर्ने र अर्को शिव पार्वतीको आराधना गर्ने ।
दुई दशक अघिसम्मका तीज गीतलाई हेर्ने हो भने कलिलै उमेरमा विवाह हुने अनि माइती टाढा हुने, माइत जान पनि वर्षाैं कुर्नुपर्ने, घरभित्र लाेग्ने, सासु/ससुरा, जेठाजु/जेठानीलगायतबाट हेपिनु तथा चेपिनुपर्ने जस्ता बेदना वा भाेगाइ गीतमार्फत पोखिने गरेको पाइन्थ्यो । भदौको तृतीयामा मनाइने तीजका लागि खासगरी नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म गाउँघरमा गीतहरू गाइने गरिन्थ्याे ।
तर, पछिल्लो समय असारदेखि नै तीज गीत गाउन थालिएको पाइन्छ । साउन सुरू भइसक्दा त तीजका थुप्रै गीत सार्वजनिक गर्ने चलन बनाइएकाे छ ।
सोहीअनुरुप हिजोआज दिनकै तीज गीत रिलिज भइरहेका छन् । यतिबेला युट्युब हेर्ने हो भने दुई दर्जन बढी तीज गीत आइसकेका छन् । जसमा अहिले तपाईं/हामीले औधी रुचाएका गायक/गायिका पनि तीज गीत गाउन प्रतिस्पर्धामा देखिन्छन् ।
तीज हिन्दु नेपाली नारीको मौलिक पर्व हो । नेपालीको संस्कृति हो । यो हाम्रो आफ्नै मौलिक संस्कृति र पहिचान हो । आम नेपाली हिन्दु नारीको महान् पर्व हो । तर, अहिले तीज गीतले नै नेपाली पहिचान र संस्कृतिमाथि धावा बोलिरहेका छन् ।
अश्लील, अपाच्य र सुन्नै नसकिने गीत चर्चित गायक/गायिकाले नै गाइरहेका छन् । बिडम्बनाकाे विषय नै मान्नुपर्छ, यस्ता गीत गाउने कलाकारलाई स्टेज र रेकर्डिङमा भ्याइनभ्याइ छ ।
नारीको पर्व हो तीज । त्यसैले अधिकांश गीत पनि नारीले नै गाउने नै भए । गाइरहेका छन् । तर, पुरुषभन्दा नारीले गाएका गीतमा झन् ठूलो समस्या देखिएको छ ।
‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’, ‘दिउँला बरी लै’, ‘विस्तराले पोल्यो’, ‘मादलु घन्काउँदै’ जस्ता अश्लील र द्विअर्थी शब्द भएका गीत आएका छन् । यीमध्ये ‘विस्तराले पोल्याे’ र ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’मा शान्तिश्री परियारको स्वर छ ।
‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’ बोलको द्विअर्थी शब्द भएको गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् । राजेश जसलाई महानायक भनिन्छ । यहीअनुसारको उनको सम्मान छ ।
‘मादलु घन्काउँदै’मा प्रीति आलेको स्वर छ । यसको विवादित शब्द हटाइएको छ । तर, सुरुमा विवादित शब्द थियो । विवादित शब्दका कारण महिला भएर महिलाकै अपमान गरेको भन्दै प्रीतिको आलोचना भएको छ ।
‘विस्तराले पोल्यो’ जस्तो द्विअर्थी शब्द भएको गीत शान्तिश्रीले गाएकी छन् । यो गीतको भिडियो अश्लील छ । त्यसैले शान्तिश्रीको आलोचना भइरहेको छ ।
मौलिक परम्परा र संस्कृति नै धमिल्याउने काम गरेको भन्दै उनीहरूको टिप्पणी भइरहेको छ ।
‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे ।’ भन्ने गीत प्रीति आलेले गाएकी छन् । महिला भएर महिलाकै अपनामान गरेको भएन र यो ? परिवारलाई घरमा छोडेर विदेश गएका आफन्तले यो गीत सुनेर के बुझ्ने ?
शब्द अरुकै होला, ठिक छ, तर गाउने कलाकारलाई पनि त गीत छान्ने अधिकार त हुन्छ हाेला नि ! मन परेन र चित्त बुझेन भने गाउँदिन भन्न सक्ने विकल्प पाइन्छ हाेला नि !
गीतमा निराशा र खुसी पक्कै हुन्छ । तीजका गीतमा चेलीका बेदना र पीडा हुन्छ नै । ‘विस्तराले पोल्यो’ चाहिँ कसरी तीज गीत हुन्छ ? यस्तो गीत नछान्न शान्तिश्रीलाई कसले रोक्यो ?
शान्तिश्री तिनै गायिका हुन्, जसलाई अहिले लोक होस् वा आधुनिक अथवा चलचित्रका गीतमा भ्याइनभ्याइ छ । पहिलो रोजाइको गायिका भएर रेकर्डिङ गरिरहेकी छन् । स्टेजमा प्रस्तुति दिइरहेकी छन् ।
शान्तिश्री र प्रीति दुवै अहिले रुचाइएका गायिका हुन् । देशविदेशका कार्यक्रमदेखि कलेक्सन एल्बममा व्यस्त गायिका हुन् । यो आफ्नो माग र दर्शकले दिएको माया र सम्मानको इज्जत उनीहरू स्वयंले राख्न सक्नुपर्छ ।
‘विस्तारले पोल्यो’ गीतको भिडियोले नेपालीको मौलिक संस्कृतिलाई कसरी प्रतिनिधित्व गर्यो ? गीतको भिडियो यस्तो बन्दा गाउनेले किन यस्तो भनेर चासो देखाउनु पर्दैन ? हुन त शब्दसँग त सरोकार नराख्नेले भिडियोको किन चिन्ता गर्थे र !
एकातिर हामी आफ्नै मौलिक पर्व भनेर तीजलाई लिएर गर्व गरिरहेका छौँ, अर्कोतिर मौलिकताका नाममा तीजको चीरहरण गरिरहेका छौँ । कहिले तीन महिना अगाडिदेखि दर खाँदै त कहिले अश्लीलताको पराकाष्ठ नाघेर गीत र भिडियो बनाइरहेका छौँ । यस्तो तीज र तीज गीत देखेको अहिले हुर्कदै गरेको पुस्ताले तीजलाई कस्तो पर्वका रुपमा बुझ्छ ?
समाजले अग्रज र आइडल मानेका व्यक्तिले युट्युबबाट केही सीमित आयआर्जनको लोभमा गरिने गलत अभ्यासले नेपाली समाज गलत बाटोतर्फ हिँडिरहेको छ । सस्तो लोकप्रियताको लोभले हाम्रो संस्कृति नै धमिल्याउने काम भइरहेको छ ।
यसले अन्ततः समाजलाई लैजाने गलत बाटोतर्फ नै हो । पहिचानको रूपमा रहेको संस्कृतिको घाँटी निमोठ्ने नै हो । त्यसैले यो अभ्यास र गन्तब्यको अभ्यास नगरौं । आफ्नै पहिचानलाई नामेट बनाउने बाटोतर्फ अग्रसर नहौँ । आफ्नो संस्कृति आफैँ जगेर्ना गरौँ । संस्कार सपार्ने/बिगार्ने हामी नागरिकको जिम्मेवारी हो ।