त्रिशूलीमा बेपत्ता बससहित यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने-Sutra News

त्रिशूलीमा बेपत्ता बससहित यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । गत असार २८ गते त्रिशूली नदीमा खसेर बेपत्ता बससहित यात्रुको खोजी गर्न सरकारले चीन सरकारसँग सहयोग माग्ने भएको छ ।



संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहसचिव एकनारायण अर्यालले त्रिशूलीमा बेपत्ता बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको जानकारी दिएका हुन् । उनले भने, ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ ।’

मुग्लिन-नारायणघाट सडकअन्तर्गत भारतपुर महानगर २९ मा पर्ने सिमतालमा लेदोसहितको पहिरोमा परी दुई वटा बस त्रिशूलीमा खसेको थियो । बसमा सवार ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

यसअघि भारतबाट आएको टोलीले एक हप्तासम्म खोजी गरेको थियो । उक्त टोलीले कुनै पनि संकेत पाउन सकेनन् । बस र यात्रुको कुनै जानकारी नपाएसँगै उनीहरू फर्किएको थियो ।

बस खसेसँगै सरकारले सयौँ सुरक्षाकर्मीमार्फत बससहित यात्रुको खोजी गरिरहेको छ । तर, अहिलेसम्म घटनास्थलबाट कुनै संकेत पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट