अपाच्य शब्दको गीत गाएको भन्दै चौतर्फी विरोध भएपछि शान्तिश्रीले मागिन् माफी-Sutra News

अपाच्य शब्दको गीत गाएको भन्दै चौतर्फी विरोध भएपछि शान्तिश्रीले मागिन् माफी

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । पछिल्लो समय गायिका शान्तिश्री परियारलाई लोक दोहोरी होस् वा आधुनिक अथवा फिल्मका गीतमा समेत भ्याइनभ्याइ छ । एकपछि अर्को बजारमा उनका गीतहरू आइरहेका छन् ।



उसो त उनका गीतहरूलाई दर्शकले औधी मन पराउँछन् तर, हालसालै रिलिज भएका उनका केही गीतहरूलाई लिइएर भने दर्शकहरूले विरोध गरिरहेका छन् ।

कतिपय तीजका गीतहरू गाउँदा अश्लील, अपाच्य र सुन्नै नसकिने गीतहरू पनि छनोट गरेको भन्दै उनलाई नानाथरी भनिरहेका छन् । ‘विस्तराले पोल्यो’, ‘गुलेली तन्कियो’ जस्ता गीतहरूबाट त झन् उनले विरोध खेपिरहेकी छन् ।

‘विस्तराले पोल्यो, जस्तो द्विअर्थी शब्द भएको गीत शान्तिश्रीले गाएकी छन् । यो गीतको भिडियो अश्लील छ र गीतको भिडियो यस्तो बन्दा गाउनेले किन यस्तो भनेर चासो नदेखाएको भन्दै उनको आलोचना गरिएको हो ।

आलोचनासँगै मौलिक परम्परा र संस्कृति नै धमिल्याउने काम गरेको भन्दै उनको टिप्पणी भइरहेको छ । कतिले त समाजले अग्रज र आइडल मानेकी व्यक्तिले सस्तो लोकप्रियताको लोभमा गरिने गलत अभ्यासले नेपाली समाज गलत बाटोतर्फ हिँडिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् भने कतिले हाम्रो संस्कृति नै धमिल्याउने काम भइरहेको छ भन्दै यस्तो गीत गाएर गीत सङ्गीतको घाँटी ननिमोठ्न शान्तिश्रीलाई आग्रह समेत गरेका छन् ।

लोकदोहोरी प्रतिष्ठानकी सदस्य समेत रहेकी उनले विज्ञप्ति निकाल्दै आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका शान्तिश्री परियारले दर्शक-श्रोतासँग माफी मागेकी छन् ।

उनले श्रोता-दर्शकसँग माफी माग्दै आगामी दिनमा शब्द र संगीत छनोट गरेर मात्र गीत गाउने बताएकी छन् ।

बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको उल्लेख छ ।

 

सस्तो लोकप्रियताको लोभले संस्कृति नै धमिल्याउने काम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट