राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन-Sutra News

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए ।



‘राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण संकलन भइसकेको छ, कार्ड छपाई ४३ लाख भइसकेको छ, ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको संख्या एक दम कम भयो, अरु सबै कुरा ठीक छ, ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौं, वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताए । ‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो, यो राज्यको भविष्यसँग जोडिएको छ, यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ,’ उनले भने ।

‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक नभएको दाबी थियो । ‘सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ, तर जेष्ठ नागरिकबाहेकका हकमा अनिवार्य गरौँ, जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔं,’ उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरुले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट