बोर्ड अध्यक्षमा चलचित्रकर्मीको आँखा, को-को छन् आकांक्षी ?-Sutra News

बोर्ड अध्यक्षमा चलचित्रकर्मीको आँखा, को-को छन् आकांक्षी ?

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भइसकेको छ।



गत साता साउन ९ गते भुवन केसीको कार्यकाल सकिएसँगै वोर्डका लागि नयाँ अध्यक्षको चयन पक्रिया सुरु भएको हो । बुधबार विकास बोर्डको तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्षमा दरखास्त आह्वान गरिसकेको छ। मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेकाे छ ।

सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

यता, विकास बोर्डमा सामान्यतया जसको सरकार छ, उही निकटको व्यक्तिले नियुक्ति पाउने परम्परा बनेको छ । यसपटक नेकपा (एमाले)को सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि एमालेकै भागमा परेको हुँदा अध्यक्ष पनि एमालेनिकट कै व्यक्ति हुने करिव निश्चितजस्तै छ ।

यसपटक बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारमा दुई अनुहार देखिएका छन्, अभिनेत्री करिश्मा मानन्धर र निर्देशक दिनेश डिसी । उनीहरुसँगै अर्जुनकुमार डंगोल, दयाराम दाहाल र नरेन्द्र मर्हजनले आकांक्षा राखेका छन् । दाहाल पूर्व अध्यक्ष हुन भने महर्जन र डंगोल चलचित्र निर्माता तथा सिनेमा हल व्यवसायी हुन् । डीसी एमाले निकटका कलाकर्मीहरुको संगठनका अध्यक्ष हुन् । त्यस्तै नायिका मानन्धर २ वर्षअघि एमालेमा प्रवेश गरेकी हुन् ।

आधा दर्जनले आकाँक्षा राखेपनि डीसी र मानन्धरबीच टक्कर हुने देखिएको छ । डीसीले अध्यक्षका लागि प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलमार्फत लविइङ बढाइरहेका छन् भने मानन्धरले पनि एमालेका महिला नेतृहरुमार्फत आफ्नो लविङ बढाइरहेकी छन् ।

हुन त उनीहरु दुवै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै पहुँच राख्ने फिल्मकर्मी हुन् । यसैले ओलीले बोर्ड अध्यक्षका लागि चासो देखाएको अवस्थामा करिश्मा र दिनेशमध्ये एक हुनसक्ने सम्भावना प्रवल देखिएको छ ।

यसअघि एमाले सरकारमा रहँदा स्वर्गीय केशव भट्टराई र दयाराम दाहाललाई बोर्ड अध्यक्ष बनाउन दिनेशको ठूलो भूमिका थियो । त्यसबेला उनले अध्यक्ष बन्न इच्छा देखाएनन् । तर, यसपटक उनी आफैं बोर्ड अध्यक्षका लागि लबिङमा छन् ।

२०७८ सालमा एमाले बनेकी करिश्माले आफूले बोर्ड अध्यक्षका लागि ‘लबिङ’ नै नगरेको बताएकी छन् । यद्यपि, पार्टीले जिम्मेवारी दिए सम्हाल्न तयार रहेको उनको भनाइ छ ।

तीन वर्षमा पार्टीले उनलाई चुनाव प्रचारमा अनुहार भजाउनबाहेक अरु कुनै जिम्मेवारी दिएको छैन । त्यसैले उनलाई पार्टीमा टिकाइराख्न पनि बोर्ड अध्यक्ष दिन सक्ने सम्भावना छ । र, उनी पनि विश्वस्त देखिएकी छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष तथा निर्माता नरेन्द्र महर्जन, पूर्व बोर्ड सदस्य तथा निर्माता अर्जुन कुमार, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापाले पनि बोर्ड अध्यक्षका लागि आफू निकट एमालेका नेता तथा मन्त्रीसँग लबिङ गरिरहेको स्रोतको दाबी छ । सम्भवतः भदौ पहिलो सातासम्ममा बोर्डले नयाँ अध्यक्ष पाउन सक्छ । अध्यक्षको कार्यकाल दुई वर्षको हुने गर्छ ।

यता फिल्म क्षेत्रका चलचित्रकर्मी योपटक सरकार उदार होस्, सञ्चारमन्त्रीले कोटको खल्तीबाट होइन, योग्य व्यक्तिलाई बोर्डको साँचो दिऊन् भन्ने अपेक्षा व्यक्त गर्दे आएका छन् । किनकि, बोर्ड स्वायत्त छैन । स-सानो कामका लागि पनि विभागीय मन्त्रालयको भर पर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट