सच्चिए ओली, सरकारी निवासमा पार्टीको बैठक नगर्ने उद्घोष-Sutra News

सच्चिए ओली, सरकारी निवासमा पार्टीको बैठक नगर्ने उद्घोष

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका हुन् ।



“शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु, आज हाम्रो पार्टीको सचिवालय बैठक छ, मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ”, ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !”

एमालेको सचिवालय बैठक राजधानीको एक होटलमा बिहान ११ बजेदेखि बस्दैछ। बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।

यसअघि ओली प्रधानमन्त्री भएको बेला पार्टीका अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने गरेका थिए । तत्कालिन नेकपाका स्थायी, केन्द्रीय सचिवालय बैठकहरु बालुवाटारमा गरिँदा उनको चौतर्फी आलोचना हुने गरेको थियो ।

अहिले गरेको घोषणा पनि टिक्छ वा टिक्दैन अन्योल छ । उनी आफैंले “मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने” बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट