काठमाडौं । क्यान्सर पीडितलाई १० गुणा बढी औषधि दिँदा मृत्यु भएपछि दुई नर्स निलम्बित भएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि)को मात्रा बढी दिएर मृत्यु भएपछि उनीहरूलाई निलम्बन गरिएको हो ।
घटनापछि दुई नर्सलाई निलम्बनसँगै दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरिएको छ । उपचारका लागि आएका बिरामीलाई दिनु पर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो ।
बिरामीलाई ३.४ मिलिग्राम किमो दिनु पर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार भइरहेको थियो ।
उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको थियो । मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।
बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ । निलम्बित हुने नर्सहरूमा प्रभा तामाङ र आकृति श्रेष्ठ रहेका छन् ।