काठमाडौं । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।
पाइलट शाक्यको स्वास्थ्य सामान्य उन्मुख बनेसँगै आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिए । डिस्चार्ज गर्नुअघि अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकार आफ्नो भनाइ राख्न लगाउने तयारी गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई बोल्न नदिन निर्देशन दिएसँगै सम्भव नभएको अधिकृत दाहालले बताए । ‘आज साढे ४ बजे उहाँलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ, तर मिडियाको अगाडि बोल्न रोकेका छौं,’ उनले भने ।
दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म पाइलट शाक्यलाई बोल्न रोक लगाइएको हो ।