काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्दै ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
मन्त्रिपरिषद्मा कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामा तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री थपिएका छन् । थपिएका बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ भने तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यसैगरी, चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्लाई समावेशी नबनाइएकाे र अन्य दललाई नसमेटिएकाे आलोचनाका बीच तीन राज्यमन्त्री नियुक्त गरिएकाे हाे ।
ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
राज्यमन्त्रीमा नियुक्त भएका चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन् । रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए ।
नाउपाभित्रकाे विवादका बीच रेशम चौधरीले श्रेष्ठलाई हटाएर अरूण चौधरीलाई संसदीय दलकाे नेता बनाएका थिए ।