काठमाडौं । सरकारभित्र प्रधानमन्त्रीको हैसियतले एकपछि अर्को निर्णयहरु गरिरहेका केपी शर्मा ओलीले पार्टी अध्यक्षको हैसियतमा नेकपा (एमाले)भित्र पनि व्यापकरुपमा नेताहरुको कार्यविभाजन हेरफेर गरेका छन् । बिहीबार सचिवालय बैठक बोलाएर ओलीले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गराएका थिए ।
उनले एकातिर केही रिक्त पदमा मनोनित गरेका छन् भने अर्कोतिर नेताहरुको जिम्मेवारी हेरफेर गराएका छन् ।
एकीकृत समाजवादीबाट फर्किएका नेता गुरु बराललाई उपाध्यक्षमा मनोनित गराएका ओलीले रिक्त दुई स्थायी समितिमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनित गरेका छन् । साथै, केन्द्रीय सदस्य पदमा पनि १७ जनालाई मनोनित गराएका छन् ।
अनुमोदित नभएकालाई महत्वपूर्ण जिम्मा
ओलीले सचिवालय बैठकमार्फत सातै प्रदेशका इन्चार्जसँगै पार्टीको ३२ वटा विभाग, २२ वटा जनसंगठन प्रमुख र इन्चार्जहरु हेरफेर गराएका छन् । ओलीले जसरी नेताहरुको जिम्मेवारी हेरफेर गराएका छन्, यसले पार्टीभित्र भने असन्तुष्टि बढाएको छ ।
विशेषगरी निर्वाचन प्रक्रियामा अनुमोदित नभएका नेताहरुलाई उनले महत्वपूर्ण जिम्मेवारी सुम्पेका छन् । ओलीले चयन गरेका सात प्रदेशमध्ये ६ प्रदेशकै इन्चार्जहरु निर्वाचन हारेका छन् ।
कोशी प्रदेश इन्चार्ज बनेका शेरधन राई भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीसँग पराजित भएका थिए । चार वर्ष मुख्यमन्त्रीको पदमा रहेपनि महत्वपूर्ण काम गर्न नसकेका राई पार्टी जिम्मेवारी बहनमा पनि कमजोर मानिन्छन् । जहाँ निर्वाचन जितेका योगेश भट्टराईले इन्चार्जको जिम्मेवारी खोजेका थिए तर, पार्टी अध्यक्ष ओलीको आर्शिवाद नपाउँदा राईले जिम्मेवारी पाए ।
यता, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज जिम्मेवारी दिइएको छ । भट्टराई दुई/दुई पटक चुनाव हारेका पात्र हुन् । उनी काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगनकुमार थापासँग हारेका थिए । यद्यपि, जिम्मेवारी प्राप्तिको सन्दर्भमा उनका लागि हार फाइदाजनक नै देखिन्छ ।
बागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता कृष्णगोपाल श्रेष्ठसहित थुप्रै नेता इन्चार्जको आकांक्षी थिए । यद्यपि, अन्य अध्यक्ष ओलीको आँखामा पर्न सकेनन् ।
गण्डकीको इन्चार्ज बनेका किरण गुरुङ्ग पनि पराजित उम्मेदवार हुन् । गुरुङ कांग्रेसका शंकर भण्डारीसँग तनहुँ क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । यद्यपि, उनलाई पार्टी जिम्मेवारीमा केहीले रोकेन ।
यता, लुम्बिनीमा इन्चार्जको जिम्मेवारी पाएकी पद्मा अर्याल पनि आम निर्वाचनमा पराजित भएकी थिइन् । उनी स्याङजा– २बाट कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित भएकी थिइन् । यद्यपि, ओली निकट भएकै आधारमा एकपछि अर्को जिम्मेवारी पाइरहेकी छिन् ।
अन्य प्रदेशको जस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश इन्चार्जको अवस्था पनि उस्तै छ । कर्णालीमा इन्चार्जको जिम्मेवारी पाएका गोरखबहादुर बोगटी र सुदूरपश्चिममा इन्चार्जको जिम्मेवारी पाएका लेखराज भट्ट पनि जनअनुमोदित अनुहार होइनन् । बोगटी २०५६ यता निर्वाचित हुन सकेका छैनन् भने भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए ।
मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका लिलानाथ श्रेष्ठ मात्रै चुनावबाट अनुमोदित पात्र हुन् । यद्यपि, बहुल मधेशीको श्रेत्रमा नेवारी अनुहार सारिएको सन्दर्भमा पनि एमालेभित्र असन्तुष्टि देखिन्छ । श्रेष्ठभन्दा वरिष्ठ नेताहरु रामदयाल मण्डल, पुरुषोत्तम पौडेल र समुनराज प्याकुरेल हुँदा हुँदै ओलीले श्रेष्ठलाई अगाडि सारेका छन् ।
विशेषगरी ओलीले २०८४ को निर्वाचनबाट एमालेलाई बहुमत दिलाउने उद्घोष गरिरहेका छन् । यद्यपि, जे–जसरी हरुवालाई जिम्मेवारीमा सारिएको छ, यसले भने ओलीको त्यो उद्घोष सफल हुन जटिल देखिन्छ ।