जी मोटर्सले स्काइवेलको ‘बीई ११’ ल्याउँदै, मूल्य कति, सुविधा कस्ता ?-Sutra News

जी मोटर्सले स्काइवेलको ‘बीई ११’ ल्याउँदै, मूल्य कति, सुविधा कस्ता ?

शुक्रबार, १८ साउन २०८१

शुक्रबार, १८ साउन २०८१

काठमाडाैं । जी मोटर्सले स्काइवेलको अर्को विद्युतीय कार नेपाल ल्याउने भएकाे छ । स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले स्काइवेलको ‘बीई ११’ ल्याउने भएकाे हाे ।



कम्पनीले जनाएअनुसार स्काइवेल बीई ११ ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्रीको विकल्पमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीयुक्त बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले ५ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। यी दुवै विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान गरिएको छ।

जी मोटर्सले गत वर्षको भदौमा स्काइवेल ब्रान्ड औपचारिक रुपमा भित्र्याएको थियो। कम्पनीले स्काइवेल ब्रान्डको पहिलो गाडीका रुपमा ईटी फाइभ ल्याएको थियो।

नाडा अटो शो २०२३ बाट औपचारिक बुकिङ एवम् ब्रान्ड सार्वजनिक गरेको जी मोटर्सले स्काइवेलको प्रिमियम तथा नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमिको दुरी एकपटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले जनाएकाे छ ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

स्काइवेल ईटी फाइभ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। स्काइवेल ईटी फाइभको भने नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट