काठमाडौं । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष घिमिरेले फिल्ममा डेब्यु गर्ने भएका छन् । उनले ‘होस्टेल–३’बाट डेब्यु गर्न लागेका हुन् ।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । फिचर फिल्म भने उनको यो पहिलो हुनेछ । यसमा उनी मुख्य कलाकारमध्यकै एक हुने बताइएको छ ।
‘होस्टेल–३’को छायांकन अगावै रिलिज मिति घोषणा गरिएको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो फिल्म आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताएका छन् ।
यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् ।
‘यस फिल्मत्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ । होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ,’ निर्देशक कँडेलले भने ।
‘होस्टेल–३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट फिल्ममा प्रवेश गरेकी हुन् ।
‘होस्टेल’ फिल्म शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली फिल्मका सफल कलाकारहरू बनिसकेका छन् ।
‘होस्टेल–३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।