कञ्चनपुर । जिल्लाको दोधारा-चाँदनी नगरपालिका २ स्थित उखुबारीबाट पाटे बाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ ।
घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए ।
घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जंगल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुन सक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीन वटा बाघ बिरामी छन् ।
आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उनको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।