बल्कारविरुद्ध थप कठोर हुन आवश्यक रहेको सन्देश दिने ‘देवी’को टिजर-Sutra News

बल्कारविरुद्ध थप कठोर हुन आवश्यक रहेको सन्देश दिने ‘देवी’को टिजर

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के मुख्य भूमिकामा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । तीजको अवसर पारेर  भदौ २१ गते रिलिज हुन लागेको फिल्मको टिजर महिला यौनहिंसाविरुद्धको कथावस्तुमा आधारित रहेको छ ।



सञ्जोग राईले निर्देशन गरेको फिल्म क्राइम थ्रिलर जनरामा छ । यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका राईले महिलामाथि हुने यौनहिंसाविरुद्धको कथामा व्यावसायिकभन्दा पनि इमान्दार भएर राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै आएका छन् ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्मले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

एक अपरिचित पात्रले धमाधम बलात्कारीको हत्या गरेपछि यो हत्या सही वा गलत भन्ने प्रश्न फिल्मले उठान गर्ने प्रयास गरेको छ । नेपालको कानुन संशोधन गरेर बल्कारविरुद्धको अपराधमा थप कठोर हुन आवश्यक रहेको सन्देश यो फिल्मले दिन खोजेको छ ।

अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी अधिकृत तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा पर्दामा प्रस्तुत हुनेछन् । फिल्ममा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट