प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को आफ्नो दृश्यको डबिङ, भाद्र ७ मा प्रदर्शन हुने-Sutra News

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को आफ्नो दृश्यको डबिङ, भाद्र ७ मा प्रदर्शन हुने

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । प्रधानमन्त्रीले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् ।



अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

प्रधानमन्त्री ओलीको फिल्मको डबिङसँगै प्रदर्शन मिति समेत तय गरिएको छ । आगामी ‘नमेटिने घाउ’ भदौ ७ गते बाट देशभरिका हलहरुमा प्रदर्शन हुने निर्देशक ढुङ्गानाले जानकारी दिए ।

एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित रहेर निर्माण भएको ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल, राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । नेपाल र शाहीले केही दिन अगाडि आफ्नो दृश्यको डबिङ गरेका थिए ।

यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।

फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट