आज काठमाडौं उपत्यकामा भोटो जात्रा, तीन जिल्लामा सार्वजनिक बिदा-Sutra News

आज काठमाडौं उपत्यकामा भोटो जात्रा, तीन जिल्लामा सार्वजनिक बिदा

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।



गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनु पर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजा गाजासहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ ।

जात्राको यसबाहेक अन्य किंवदन्ती पनि छन् । पहिलो किंवदन्ती अनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैं निस्किए भनिन्छ ।

दोस्रो किंवदन्ती अनुसार कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भएको थियो । तेस्रो किंवदन्ती अनुसार राजा वरदेवको शासनकालमा अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याइएको बताइएको छ ।

सरकारले भोटो देखाउने जात्राको दिन आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट