नेपाली फिल्म मेकरलाई राम्रो फिल्म बनाउनभन्दा फ्लोरमा नजाँदै रिलिज डेट तोक्न हतार-Sutra News

नेपाली फिल्म मेकरलाई राम्रो फिल्म बनाउनभन्दा फ्लोरमा नजाँदै रिलिज डेट तोक्न हतार

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । गत मंगलबार फिल्म ‘कल्ली’को पोस्टर सार्वजनिक भयो । पोस्टरमा लेखिएको थियो- प्रदर्शन मिति चैत्र २९ अर्थात् फिल्म आगामी नयाँ वर्ष २०८२ को अवसर पारेर चैत्र २९ गते रिलिज हुनेछ । फर्स्ट लुक पोस्टर सार्वजनिक भएको यो फिल्म छायांकनमा भने अब केही महिनापछि जाने तायारीमा रहेको छ । यस्तै चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ । यसैगरी व्यवसायिक सफल फिल्म ‘होस्टेल’ को तेस्रो श्रृंखला ‘होस्टेल-३’ । यी दुई फिल्मको समेत फ्लोरमा नजाँदै फागुनलाई रिलिज मिति घोषणा गरेर बसेका छन्।



‘लाज शरणम्’  महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ भने ‘होस्टेल-३’लाई फागुन १६ गते प्रदर्शन गर्ने भनिएको छ । यसैगरि, एक वर्ष अगाडि फिल्म ‘तेल भिसा’ ले पनि रिलिज मिति घोषणा गर्यो । भदौको २८ गतेलाई रिलिज गर्ने भनिएको यो फिलम पछि सरेर यसका निर्माता मंसिरको ७ गते पुगेका छन् ।

छायांकन अगावै प्रदर्शन मिति घोषणा गर्ने मामलामा निर्देशक सन्तोष सेनलाई पनि बिर्सिन हुँदैन । उनकै निर्देशनमा बन्ने भनिएको फिल्म ‘बलिदान’ यस वर्षको दसैंमा प्रदर्शन हुने बताइएको थियो । तर, यो मितिबाट निर्देशक सेन पछि सरेका छन् । अब, फिल्म कहिले फ्लोरमा जान्छ रिलिज हुन्छ पत्तो छैन । यी त पछिल्लो उदाहरण मात्र हुन् । यस्ता थुप्रै फिल्म छन्, जो छायांकनमा जानु अगाडि नै प्रदर्शन मिति तय गर्छन् ।

फिल्मको घोषणा नगर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरिसक्छन् । यो नेपाली फिल्म क्षेत्रको ठूलो समस्या हो । यसलाई ‘रोग’ नै भने पनि हुन्छ । जसले यो उद्योगलाई अधोगतितर्फ धकेलिरहेको छ । रोगले सँधै शरीर, समय र पैसाको बर्बादी गर्छ । व्यक्तिलाई कमजोर बनाउँछ । त्यस्तै यो रोगले फिल्ममा गरेको लगानी, समय र मिहिनेत बर्बाद गरिरहेको छ ।

फिल्म बन्ने कहिले हो थाहा छैन अगाडि नै प्रदर्शन मिति लिने रोगले निर्माता-निर्देशक र फिल्मलाई बर्बादीतिर लगिसकेको छ । लगिरहेको छ र लगिरहने पनि छ । यता नेपालमा पहिला फिल्म निर्माणको हल्ला चलाउने अनि लगानीकर्ता खोज्ने चलन पुरानै पनि छ। कतिपयले यसलाई फिल्मको कलाकारको नाम सहित पोस्टर निकालेर ‘मूर्गा’ खोज्ने शैली पनि भन्छन्।

उसो त, नेपाली मेकर जो हतार गरेर प्रदर्शन मिति घोषणा गर्छन् । यसरी हतारिनु भनेको नेपालमा भन्ने गरिएको एउटा उखान छ ‘नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु पहिले’ जस्तै । अहिले नै रिलिज मिति घोषणा गरेका फिल्मलाई त्यस समयमा कुनै विदेशी फिल्म आउने भए भने नेपाली फिल्मका वितरकहरू हिन्दी भाषाका फिल्महरू तथा हलिउड फिल्महरूसँग नेपाली फिल्म नजुधाउन सुझाउने गरेका छन्। त्यही भएर पछि फेरि रिलिज मिति फेरबदल गर्न हिचकिचाहट गर्न आफैं अग्रसर हुन्छन् ।

गत जेठ प्रदर्शनमा आएको उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मनसरा’ राम्रो हाइप हुँदाहुँदै पनि चलेन । निर्देशकसँग फिल्म ‘जारी’ निर्देशन गरेको ब्रान्ड थियो । कबड्डी फिल्म्सको ब्यानर थियो । बजारमा चलेका र दर्शकले पत्याएका कलाकार फिल्ममा थिए । तर पनि फिल्म जति चल्नुपर्ने हो चलेन । जति तारिफ दर्शक र समीक्षकबाट पाउनु पर्ने हो पाएन ।

पछि यसको कारण के हो भनेर समीक्षा गर्दा लेखक तथा निर्देशक हतारमा फिल्म बनाउनु पनि एउटा कारण हो भन्ने निष्कर्षमा पुगेको सुनिएको थियो । सुरुमै प्रदर्शन मिति लिएर फ्लोरमा जानु नै गल्ती भएको निष्कर्षमा निर्देशक पुगेका सूचना आएको थियो ।

गत वर्ष चैत्रको अन्तिम सातामा प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’को अवस्था पनि त्यस्तै थियो । स्क्रिप्ट नै नलेखी छायांकनमा गएको टिप्पणी नै भयो । सेटमै स्क्रिप्ट तयार गर्दै छायांकन भएको हल्ला चलचित्र उद्योगमा भुसको आगो झैँ सल्कियो ।

केही वर्ष अगाडि फर्किने हो भने फिल्म ‘क्याप्टेन’ रिलिज हुने दिनसम्म पनि यसको काम सकिएको थिएन । भीएफएक्सलगायत धेरै काम बाँकी नै थियो । फिल्म हलमा रिलिज भएको केही दिनपछिसम्म पनि करेक्सन गर्दै हलमा नयाँ फाइल पठाउने काम भइरहेको थियो । यी त भए हाइप भएका फिल्मको अवस्था । हाइप नै बनाउन नसकेका, नयाँ मेकर र कलाकारका तथा नयाँ र कमजोर ब्यानरका फिल्मको काम कसरी भइरहेको होला माथिका तथ्यबाटै अनुमान लगाउन सकिन्छ । हलमा दर्शक पुग्दा फाइनल फाइल पुग्दैन । प्रिमियरमा समीक्षक, पत्रकार, पाहुना र समकालीनलाई बोलाउँदा फिल्म हलमा पुगेको हुँदैन । अनि कसरी बन्छ राम्रो फिल्म ?

फिल्म सिर्जना हो । धेरै विधा एउटैमा समेटिएको विधा हो । साहित्य, अभिनय, संगीत, चित्रकलालगायत धेरै विधाको समिश्रण हो । त्यसैले यसमा हतारभन्दा पनि समय लिएर गर्ने काम गर्नुपर्छ । पटक पटक दोहोर्‍याएर हेरेर करेन्सन गर्दै फाइनल गर्नुपर्छ । बिग्रिएको ठाउँमा सच्च्याउनुपर्छ । सके र मिले केही विज्ञलाई देखाएर प्रतिक्रिया लिन सक्नुुपर्छ ।

नेपालमा अभ्यास छैन तर, विश्वका ठूला थुप्रै सिनेमा उद्योगले सडकमा हिँडिरहेका रेन्डम दर्शकलाई लिएर हलमै फिल्म देखाएर फिडब्याक लिन्छन् । फ्रेस पब्लिक अथवा आम दर्शकले फिल्म मन पराउँछन् कि पराउँदैनन्, उसबाट कस्तो प्रतिक्रिया आउँछ भनेर देखाउँछन् । त्यसरी आउने फिडब्याक अनेस्ट हुन्छ भन्नेछ । अनेस्ट फिडब्यकलाई सिनेमाको मर्म नबिग्रिनेगरी ‘इनक्लुड’ गर्छन् ।

नेपाली निर्माता/निर्देशकले यति गर्न सके राम्रो । नसके कम्तीमा ऊ स्वयंले दोहोर्‍याई/तेहेर्‍याई हेर्नुपर्छ । आफैंलाई लागेको करेक्सन गर्नुपर्छ । अनि मात्रै राम्रो फिल्म बन्ने सम्भावना हुन्छ ।

प्रदर्शन मिति जति नजिकिँदै जान्छ, त्यति नै दबाब महसुस गरेर लटरपटरमा काम गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म सम्भावना बोकेका फिल्मकर्मीबाट नै राम्रो फिल्म आउँदैन । त्यसैले हतारमा काम गरेर फुर्सदमा पछुताउनेभन्दा पनि फुर्सदमा राम्रो काम गरौँ । राम्रो फिल्म दर्शकलाई दिउँ । अनि मात्रै दर्शकले पैसा तिर्छन्, फिल्मलाई । फोटकटको फिल्म बनाएर दर्शक आउने अपेक्षा गर्नु त आफैँमा मुर्खपन होइन र ? त्यसैले पहिला मिति तोकेर फिल्म बनाउनतिर होइन, पहिला फिल्म बनाएर मिति तोक्नेतिर लागौँ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट