ओलीबाट आस मरेपछि प्रचण्डतर्फ फर्किँदै उपेन्द्र-Sutra News

ओलीबाट आस मरेपछि प्रचण्डतर्फ फर्किँदै उपेन्द्र

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने सहमति गर्दै गर्दा सबैभन्दा पहिले उत्साहित भएर स्वागत गर्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि थियो । जसपाले दुई दलबिचको सहकार्यले राजनीतिक स्थिरता दिने अपेक्षा व्यक्त गरेको थियो ।



“राष्ट्रिय सहमतिको सरकार बनाउने गरी दुई दलबिच भएको सहमति निकै सकारात्मक छ, यसले राजनीतिक स्थिरताको सन्देश दिएको छ”, कांग्रेस–एमाले गठबन्धनप्रति समर्थन जनाउँदै जसपा नेपालका नेता मनिष सुमनले भनेका थिए, “नयाँ बन्ने सरकारलाई हाम्रो समर्थन रहन्छ ।”

जसपा विभाजनपछि माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारलाई दिएको समर्थन फिर्ता लिएको यादव पक्षले कांग्रेस–एमाले गठबन्धन सरकारलाई समर्थन जनाउँदै संसदमा सत्ता पक्षको बेन्चमा आफूलाई उभ्याएको थियो । नयाँ गठबन्धन सरकारलाई समर्थन जनाउँदै गर्दा विशेषगरी केन्द्र सरकार र मधेस सरकारमा सहभागिताको आस जसपा नेपालको थियो ।

तर, उपेन्द्र यादवकाे अपेक्षा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्ण बेवास्ता गरिदिए । केन्द्रमा यादव पक्षको विकल्पमा अशोक राई पक्षीय जसपालाई समेटे भने मधेशमा पनि जसपाको विकल्पमा सिके राउत नेतृत्वको जनमतलाई सघाए ।

अहिले ओली नेतृत्वको केन्द्र सरकारमा राई नेतृत्वको जसपाका दुई मन्त्री छन् । प्रदीप यादवले खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने नवलकिशोर साह सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

ओलीले सानो दल भए पनि राई नेतृत्वको जसपालाई निकै प्राथमिकताका साथ सरकारमा भूमिका दिएका छन् । सरकारमा साना दलको तर्फबाट फूल मन्त्री पाउने दल राई नेतृत्वको जसपामात्रै छ ।

यता, मधेस सरकारबाट पनि यादव नेतृत्वको जसपाले भूमिका गुमाएको छ । जहाँ जसपा नेपाल प्रतिपक्षको बेन्चमा छ ।

ओलीले पछिल्लो पटक साउन १८ मा केन्द्र सरकारलाई पूर्णता दिएका थिए । जसमा उनले जसपा नेपाललाई कुनै वास्ता गरेनन् । जहाँ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने राज्यमन्त्री लिँदै समावेश भएको छ ।

आस मरेपछि गठबन्धनविरुद्ध खुल्दै यादव

कतै पनि भूमिका नपाएपछि यादव अहिले छटपटीमा देखिएका छन् । सुरुमा उत्साहित भएर कांग्रेस–एमाले गठबन्धनको स्वागत गरेका यादव अहिले गठबन्धनलाई ‘परिवर्तन विरोधी’ भन्दै दुत्कार्न थालेका छन् ।

साउन १९ मा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस–एमाले गठबन्धन परिवर्तन मास्न लागेको आरोप लगाए । उनका अनुसार कांग्रेस–एमाले गठबन्धन २०४७ को संविधान उल्ट्याउने प्रर्यत्नमा छ ।

“नेपाली कांग्रेसले, त्यही केपी शर्मा ओलीलाई काँधमा बोकेर, सहकार्य केका लागि गर्न लाएको ?”, यादवले प्रश्न गरेका छन्, “समावेशितालाई अन्त्य गर्ने, प्रतिनिधि र प्रदेशसभाबाट समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने, यसलाई खारेज गरेपछि के हुन्छ बाँकी ? पञ्चायतकालको जस्तो, राजाको जस्तो एउटै जाति, एउटै भाषा र एउटै भेषको जातिवादी वा स्वच्छेचारी राज्यको स्थापना गर्ने हो ।”

उनले थ्रेसहोल्ड बढाएर साना दललाई सिध्याउन खोजिएको पनि आरोप लगाएका छन् । उनका अनुसार दुई दल लोकतन्त्र नै मास्ने खेलमा छन् ।

“नेपालको आन्दोलनको अहिलेसम्मकै उपलब्धि भनेको समावेशिता हो, आज सबैभन्दा बढी प्रहार राज्यका तर्फबाट सरकारमै रहेका दलहरूको तर्फबाट समावेशिकतामाथि समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको छ”, उनले भनेका छन्, “राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड बढाउने ? २००७ सालदेखि २०१७ सालसम्म आइपुग्दा १० वर्षमा १३ पटक सरकार बदलियो । के त्यो संघीयता, समावेशिता, समानुपातिकताले गर्दा हो ? यो लोकतन्त्र सिध्याउने खेल हो ।”

प्रचण्डतर्फ फर्किँदै उपेन्द्र

कांग्रेस–एमाले गठबन्धन बनेसँगै प्रतिपक्षीको बेच्नमा पुगेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादीलगायतका दल एक ठाउँमा आएका छन् । दलहरूले संसद् र सडकमा साझा एजेन्डा बनाउने सहमति पनि गरेका छन् ।

यस्तोमा सत्ता पक्षतर्फ उभिएका यादव पनि क्रमशः प्रतिपक्षी क्याम्पतर्फ नै फर्किने तयारीमा देखिएका छन् । समाजवादी मोर्चाबाट आफूलाई अलग भएको घोषणा गरेका भए पनि यादव विकल्पविहीन अवस्थामा प्रतिपक्षी क्याम्पमा आफूलाई उभ्याउन खोजेका हुन् ।

निकै तितो कटुतापछि हालै प्रचण्ड र यादव एउटै मञ्चमा देखिएका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले साउन १२ मा आयोजना गरेको एक कार्यक्रममा प्रचण्ड र यादवले मञ्च सेयर गरेका थिए ।

उक्त कार्यक्रममा यादवले प्रचण्डतर्फ लक्षित गर्दै “सत्ताका लागि जे पनि गर्न तयार हुने” भन्दै आरोप लगाएका थिए ।

यद्यपि, आलोचनाका बिच दुई नेताबिच बाँकी सहकार्यको सम्भावनाबारे पनि सार्वजनिक मञ्चमै चर्चा भएको थियो । जहाँ समाजवादी मोर्चा बृहत् बनाउने गरी नेताहरूले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट