किन मानिसहरू जन्मदिनलाई यति धेरै महत्व दिन्छन् ?-Sutra News

किन मानिसहरू जन्मदिनलाई यति धेरै महत्व दिन्छन् ?

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

जन्मदिन (बर्थ–डे) मनाउने आयातित संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाजेको छ । आजकाल जन्मदिन वा बर्थ–डे कल्चर निकै फस्टाएको छ । राजनीतिक दलका शीर्ष नेतादेखि, प्राध्यापक, फिल्मकर्मी, सर्वसाधारणसम्मले आफ्नो जन्मदिन केकले रङ्गाएको देखिन्छ ।



नयाँ कार्यको सुरुवात गर्दा होस् या समापन, जन्मदिन होस् या विवाह वार्षिकोत्सव, आमाको मुख हेर्ने दिन होस् या विदेशको भिसा लाग्दा केक यस्तो अपरिहार्य वस्तु बनेको छ, जसको अनुपस्थितिमा उत्सवहरू फिक्का हुन्छन् ।

बढ्दो सामाजिक सञ्जाल, प्रविधिको प्रयोग र आधुनिक हुने चक्करमा पश्चिमी परम्पराहरू हामीमाझ सरल बन्दै गएका छन् । आफ्ना मौलिक परम्पराहरू अर्थहीन र बेकम्मा भएका छन् । बच्चादेखि बुढा बुढीसम्मलाई जन्मदिन विशेष बन्ने गरेको छ । केक काटेर, चुच्चे टोपी, स्प्रे छर्किएर, ‘हाप्पी बर्थ–डे टु यु’ भन्ने अङ्ग्रेजी गीत बजाएर, पार्टी भोजको लाइभ गर्दै, फोटाहरू फेसबुक वालमा पोस्ट गर्दै बर्थ–डे मनाउने गरिन्छ । बर्थ–डे कसले भव्य रूपमा मनायो भनेर औकात तथा क्षमता देखाउने प्लेटफर्म फेसबुक बनेको छ ।

बच्चादेखि बुढा बुढीसम्मलाई जन्मदिन विशेष बन्ने गरेको छ । केक काटेर, चुच्चे टोपी, स्प्रे छर्किएर, ‘हाप्पी बर्थ–डे टु यु’ भन्ने अङ्ग्रेजी गीत बजाएर, पार्टी भोजको लाइभ गर्दै, फोटाहरू फेसबुक वालमा पोस्ट गर्दै बर्थ–डे मनाउने गरिन्छ ।

जन्मदिनप्रतिको यो उत्साह र चहलपहल हेर्दा, पङ्क्तिकारको मनमा सधैँ एउटा प्रश्न उब्जिन्छ– किन मानिसहरू जन्म दिनलाई यति धेरै महत्व दिन्छन् ? मलाई मेरा आमाबुबाले सानैदेखि जन्मदिन मनाउने चलन नबसाली दिएर हो या मैले यसलाई महत्व नदिएर ?

सूचना तथा सञ्चारमा आएको अभूतपूर्व चमत्कार, वैदेशिक रोजगार, वैदेशिक अध्ययन, प्रभुत्त र सम्भ्रान्त परिवारका धेरथोर अङ्ग्रेजी जाने बुझेका व्यक्तिहरूको नक्कलवादी प्रवृत्तिका कारण पूर्वीय सभ्यतामा पश्चिमी संस्कृतिको प्रभाव पर्दै गयो । यसले सांस्कृतिक परनिर्भरता र पहिचान विहीनताको अवस्था सिर्जना गरेको छ । उपभोगवादी संस्कृतिलाई बढाउँदै लागेको छ ।

जन्मदिनमा प्रयोग गरिने स्प्रे, टोपी, क्राउन, साजसज्जाका सामानहरूले अनुत्पादक आयात बढाएका छन् । नेपालीहरूले यति धेरै जन्मदिन मनाउन थालेपछि भारत र चीनले जन्मदिनसँग सम्बन्धित सामानहरूको निर्माण र निर्यात गरेर राम्रो व्यापार गर्ने मौका पाएका छन् ।

अहिले सामाजिक सञ्जालले जन्मदिनलाई यान्त्रिक बनाइदिएको छ । जन्मदिन थाहा नहुलेलाई पनि नोटिफिकेसन पठाइदिन्छ । हिजोआज कसैको जन्मदिनमा पहिला सामाजिक सञ्जालमा शुभकामना आउँछन् अनि पार्टीको माग गरिन्छ । पार्टी दिने इच्छा होस् या नहोस् मागबमोजिम पार्टी आयोजना गरिन्छ । उपहारहरू दिइन्छ । तर, यसरी जन्मदिन मनाइरहँदा यसले पर्ने प्रभाव/असरको बारेमा हामी लेखाजोखा गरेका छौँ त ?

सक्नेले जन्मदिन पार्टी प्यालेस वा घरमै पनि धूमधामका साथ मनाउँदा अर्को सँगैको छिमेकी जन्मदिन मनाउनै सक्दैन भने उसलाई र उसको बच्चालाई कति मनोवैज्ञानिक असर पर्ला ?

सक्नेले जन्मदिन पार्टी प्यालेस वा घरमै पनि धूमधामका साथ मनाउँदा अर्को सँगैको छिमेकी जन्मदिन मनाउनै सक्दैन भने उसलाई र उसको बच्चालाई कति मनोवैज्ञानिक असर पर्ला ? शुभकामना र आशीर्वादले मात्र जीवन परिवर्तन होला त ? हामीले जन्मदिनमा दिने उपहारहरू हाम्रा आफ्नै उत्पादन हुन् त ? हामीलाई यस्तै कुरामा भुलाएर पुँजीवादले हामीमाथि शासन गरिरहेको छ । पश्चिमाहरूले आफ्नो संस्कृति जबरजस्त लादेका छन् । हामी यसलाई निसंकोच अनुसरण गरिराखेका छौँ ।

अर्को शब्दमा भन्दा, विश्वव्यापीकरण र भौतिकवादले हामीलाई निरीह बनाएको छ । हामी उपभोक्ता बनेका छौं, उत्पादक हैन । हाम्रा जमिनहरू बाँझै बसेका छन् । गाउँ घरमा स्थानीय तरकारी पाइँदैन । सहरी सभ्यताका नाममा किनिखाने प्रवृत्ति बढ्दो छ । मन लागेको बेला एक कप चिया पाउन मुस्किल छ, गाउँमा तर वाईवाई र कोकाकोला नपुगेको ठाउँ छैन । कति निम्छरो छ हाम्रो अर्थतन्त्र ।

हामीले विश्व बजारमा आफ्नो चिन्तन बेच्न सकेनौँ । उत्पादन बेच्न सकेनौँ । केवल बन्यौ उपभोक्तावादको दास । घरबाट हाम्रा आवश्यकता सिर्जना हुँदैनन्, बजारले आवश्यकता जन्माइदिन्छ । कुनै समय भूराजनीतिक साम्राज्यवाद व्याप्त थियो । विश्वका विभिन्न मुलुकहरू भूराजनीतिक साम्राज्यवादको अधीनमा थिए । वर्तमान समयमा भूराजनीतिक साम्राज्यवाद सांस्कृतिक साम्राज्यवादमा परिणत भएको छ । सांस्कृतिक साम्राज्यवाद अरू देशका उच्च पदस्थ व्यक्ति, बौद्धिक वर्ग, सेलिब्रेटी आदिलाई रोल मोडल बनाई सर्वसाधारणको जीवनलाई नियन्त्रण गर्न केन्द्रित हुन्छ ।

उपनिवेशवाद समाप्त भएको छैन, सांस्कृतिक उपनिवेशवादको विस्तार भइरहेको छ । ‘बर्थ–डे कल्चर’लाई सांस्कृतिक उपनिवेशवादको औजारको रूपमा लिन सकिन्छ ।

दही चिउरा खुवाउने कार्यक्रमलाई ‘बेबिसावर’, पास्नी वा अन्न प्राशनलाई ‘राइस फिडिङ सरेमोनी’, हल्दी/मेहन्दी जस्ता कार्यक्रमले विस्थापन गर्दै छन् ।

जन्मदिन एउटा प्रतिनिधि विषय मात्र हो । हाम्रा अन्य उत्सवहरू पनि विदेशी संस्कृतिको प्रभाव मुक्त हुन सकेका छैनन् । दही चिउरा खुवाउने कार्यक्रमलाई ‘बेबिसावर’, पास्नी वा अन्न प्राशनलाई ‘राइस फिडिङ सरेमोनी’, हल्दी/मेहन्दी जस्ता कार्यक्रमले विस्थापन गर्दै छन् ।

एकजना विद्धानले भनेका थिए; मानिस मरेको दिन नरोऊ तर, संस्कृति मर्दा जीवनभरि विलाप गर ।

हामीले जन्मदिनलाई कर्मसँग जोड्नु आवश्यक छ । आशीर्वाद र शुभकामनाले जीवन परिवर्तन हुँदैन । हरेक जन्मदिनमा नयाँ कामको सुरुवात गरेर मनाऊ जस्तो : रुख रोप्न सकिन्छ ।

बालबच्चाहरूलाई जन्मदिनको अवसरमा नयाँ सीप सिकाऊ ताकि त्यही सीप पछि गएर जीवन निर्वाहको आधार बन्न सक्छ । उनीहरूलाई आफ्नो देशको मौलिक संस्कृति, धर्म, सम्भावनाको बारेमा ज्ञान दिऊ ताकि उनीहरूले आफ्नो लक्ष्य र गन्तव्य विदेश हैन स्वदेश बनाउन सकुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट