‘नम्बरी सुन’ चलाउन दर्शकलाई सुन उपहारको ‘ललिपप’-Sutra News

‘नम्बरी सुन’ चलाउन दर्शकलाई सुन उपहारको ‘ललिपप’

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म चल्न कन्टेन्टभन्दा स्क्रिप्ले मजबुत हुनुपर्ने देखिएको छ । जति बहस र फण्डाबाजी गरे पनि दर्शक हलसम्म नआउनुको मुख्य कारण फिल्मले आकर्षित गर्न नसक्नु नै हो । दर्शकले टेलरबाटै फिल्म कस्तो बनेको होला भन्ने नाडी छामिसकेका हुन्छन् । टेलरमा कुनै मुद्दा भेटिएन वा नयाँ कथाको सुगन्ध भेटिएन भने दर्शकले त्यहींदेखि उक्त फिल्मलाई हेर्नुपर्ने सूचीबाट हटाइदिन्छ ।



कुनै बेला थियो, हिरो वा स्टारले फिल्मको कन्टेन्ट बिकाउँथे । जमाना फेरिएको छ । कन्टेन्टले हिरो जन्माइरहेको छ । कलाकार बिकाइरहेको छ । दर्शकहरू फिल्ममा नयाँ विषय, घटना, पात्र खोजिरहेका छन् । सँगसँगै त्यस्ता विषय, घटना वा पात्रलाई कत्तिको मिहिन ढंगले कतै नबहकिन पस्किइएको छ भन्ने अर्को चासोको विषय बन्न थालेको छ ।

नेपाली फिल्मले दर्शकको चित्त बुझाउन नसकिरहेका बेला केही फिल्ममेकर भने ‘ललिपप’ देखाउन अनेक हर्कत गरिरहेका छन् । यसैबीच आगामी शुक्रबार अर्थात् साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘नम्बरी सुन’को युनिटले निर्माण टिमले यो फिल्म हेर्ने १२ जना दर्शकले सुनको मोतीवाला चन्द्रहार उपहार पाउने ‘ललिपप’ देखाएको छ ।

सुन उपहार दिएर रिलिज भएको दिनमै फिल्म हेर्ने दर्शक सलह झैं ओइरिन्छन् भन्ने मान्यता रखेर यसको निर्माणपक्षले दर्शकको मस्तिष्कमा डेरा जमाउन खोजिरहेको छ।  केही संख्यामा दर्शक ‘सरप्राइज्ड’ भएर फिल्म हेर्लान् तर, निर्माताले अनुसारको ‘डिमान्ड’ सप्लाई दिन असफल रह्यो भने के होला ? दर्शक हलमा नेपाली फिल्मलाई माया गरौँ, सँगसँगै सुन पाइएला भनेर भनेर जाने होइनन्, मनोरञ्जनका लागि जाने हुन् ।

समय फेरियो । फिल्मका दर्शक फेरिए । दर्शकको बुझाई फेरियो । फिल्म हेर्ने नजर फेरियो । अनि फिल्म पनि फेरिए । फिल्मका कथा फेरिए । कथा भन्ने शैली फेरियो । अभिनयको ढाँचा पनि फेरियो । तर, कसैले फेरि उही समय फर्काउँछु, शैली र टेस्ट फर्काउँछु भन्यो भने त्यो सम्भव होला र ? सम्झिएर नोस्टाल्जिक हुनु बेग्लै कुरा । दर्शकले पत्याउनु अलग कुरा । दोस्रो पक्ष चाहिँ बलियो भयो भने के हुन्छ ?  जुन फिल्म हेर्दा बढी मनोरञ्जन प्राप्त हुन्छ, त्यही फिल्म हेर्छन् दर्शकले । यो विश्वव्यापी मनोविज्ञान हो । अहिलेको समयमा फिल्म क्षेत्रमा पनि भएको यही हो ।

दर्शकलाई हलसम्म आकर्षित गर्न प्रचार-प्रसार पनि राम्रै हुन आवश्यक हुन्छ । तर, यो हैन कि पुरस्कार र उपहारको ‘ललिपप’ देखाउ।  फिल्मलाई सिर्जनात्मक विधा मानिन्छ । सिर्जनशीलताको कुशल प्रयोग भए फिल्म हेर्ने दर्शकलाई कुनै ‘ललिपप’को आहारा देखाइ राख्न पर्दैन ।

त्यसो त, यो फिल्मका निर्देशक राजु गिरीका अघिल्ला फिल्मले दर्शक तान्न सकेनन् । नौ दिनअघि उनैले निर्देशन गरेको फिल्म ‘ईश्वर’ प्रदर्शनको दुई दिनमै हलबाट उत्रियो । अब यो फिल्मले व्यवसायिक रूपमा राम्रो हुन र दर्शक तान्नमा ‘ललिपप’ देखाउन बाहेक केही भएन।

फिल्म ‘नम्बरी सुन’का सार्वजनिक भएका सामाग्रीले समेत दर्शकको मन जित्न सकेका छैनन् । फिल्ममा नाम चलेका कलाकारहरू अगाडि हुनु र फिल्मप्रति दर्शकको आकर्षण नहुनुले निर्माण पक्षलाई ठूलो धक्का लागेको छ । त्यही भएर यस्ता ‘ललिपप’ देखाउनु परेको हुन सक्छ । तर, हलमा रिलिज भएपछि दर्शकको मन जित्ने हो या होइन त्यो भने प्रतीक्षाको विषय नै हुने छ ।

फिल्ममा नम्रता, गौरव र विनोदका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

फिल्ममा शिवम अधिकारीको कथा एवं पटकथा छ। फिल्मका निर्माता सरोज खाती, सविन खाती, मनोज रिजाल हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट