काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । उर्जा मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।
दुवै जनालाई गत साउन १५ गते स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ बुझाएको दिन साउन १८ गते उर्जा मन्त्रालयले दुवैलाई हटाएको थियो ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका थिए । कुलमानले व्यवसायीले लिएको डेडिकेटेड र ट्रंकलाइनको महशुल बुझाउनु पर्ने बताउँदै आएका थिए ।
विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीचको विवाद संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । प्रबन्ध निर्देशक घिसिङले समितिको बैठकमा बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान कायमै रहेको बताएका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै बिजुलीको पैसा नतिर्ने उद्योगमा लाइन जोड्न दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीको दबाबका बीच प्राधिकरणले पैसा नतिर्ने उद्योगमा केही महिनाका लागि लाइन जोडेको थियो ।