काठमाडौं । सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । लगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न पुगेका थिए ।
कूल ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त बनेका हुन् । उनी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका हुन् ।