काठमाडौं । फिल्म ‘माइली’ को मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको फिल्मको सोमबार राजधानीको भद्रकाली मन्दिरमा फिल्मका कलाकार र प्राविधिकको उपस्थितिमा मुहुर्त गरिएको हो ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुहुर्त गरिएसँगै मंगलबारबाट मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्मापक्षले जानकारी दिएको छ ।
फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय हुनेछ ।
नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।
निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।
फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।