काठमाडौं । प्रभु बैंकको नाफामा उच्च बृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा नाफा १५०० प्रतिशतले बढी हो ।
बैंकले आर्थिक वर्ष २०७९/०८० मा २८ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ४३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब २ करोड रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ९६ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २० दशमलव ६७ प्रतिशत बढेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।
विवरणअनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ । यसको आधारमा यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई बैंकले ५.२० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक थियो ।