काठमाडौं । एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको हो ।
बैंककाे नाफा १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँमा सीमित भएकाे छ । अघिल्लो वर्षको यही अवधिमा भने बैंकको नाफा ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो ।
बैंककाे खराब कर्जा बढेसँगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा प्रभावित भएकाे देखिन्छ । खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
बैंकको सञ्चालन नाफा पनि ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज एक वर्षमा ७२ करोड १९ लाख रुपैयाँबाट बढेर २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।