काठमाडौं । सिरहाको गोलबजारमा भारतीय युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका १ बहिरीबाँध नजिकै ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत बिहार जिल्ला समस्तिपुर अलमपुरका करिब ३२ वर्षीय बबुल कुमार खानको शव फेला परेको हो ।
उनी भारत बिहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका ३५ वर्षीय विजय यादवसँगै धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए । पाहुना आएका उनीहरू मदिरा पिएर साँझ झगडा भएको स्थानीयको भनाइ छ ।
झगडाका क्रममा खानलाई गम्भिर चोट लागेको थियो । चोट लागेर बेहोस भएका खानलाई उपचारका लागि लगेको स्थानीयको भनाइ छ । चोटका कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयबासीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशिक अस्पताल पठाएको जानकारी दिए ।
उनले घटनाको अनुसन्धान भइरहेकाले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टमपछि थप जानकारी हुने बताए । घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ ।