काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनको बर्खास्तीको विरोध गरेका छन् ।
सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सापकोटाले सरकारले नियम उल्लंघन गरेर उनीहरुलाई बर्खास्त गरेको दाबी गरेका हुन् । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत महसुल बक्यौता उठाउन यसअघिका संसदीय समितिले निर्देशन दिइसकेको भन्दै त्यसलाई कार्यान्वयन गराउनुको साटो उल्ट्याउन लागेको उनको भनाइ थियो ।
‘‘संसदीय समितिहरु भनेको सरकारका स्वार्थ बाझिएका निर्णय उपर निगरानी गर्ने, संसदीय रुपमा खबरदारी गर्ने र आवश्यक पर्दा निर्देशन दिने स्पष्ट कार्य क्षेत्र छ,’ उनले भने, ‘तर, बडो बिडम्बनाको कुरा सार्वजनिक लेखा समितिका सभापतिले यस्तो स्पष्ट निर्णय हुँदाहुँदै सबै निर्णयलाई लत्याएर अनावश्यक रुपमा यी निर्णय उल्ट्याउने उद्देश्यका साथ जे छलफल गरिराख्नु भएको छ, यो अनैतिक र घोर आपत्तिजनक छ ।’
प्राधिकरणको सञ्चालक समितिका आर्चाय र पुनलाई उर्जा मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पदबाट हटाइएको थियो । उनीहरूलाई गत साउन १५ गते स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ बुझाएकै दिन दुवै जनलाई हटाउने निर्णय भएको थियो ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका थिए । कुलमानले व्यवसायीले लिएको डेडिकेटेड र ट्रंकलाइनको महशुल बुझाउनु पर्ने बताउँदै आएका छन् । उनले समितिको बैठकमा जवाफ दिने क्रममा समेत व्यवसायीले बक्यौता रकम दिनु पर्ने अडान राखेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै विद्युतको लाइन काटिएको ६ वटा कम्पनीमा लाइन जोड्न दबाब दिएका थिए । प्रधानमन्त्रीको दबाबका बीच प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युतको जोडिएको छ ।